काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए ।
‘शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको हो’ नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भने ।
फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो । मस्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । कांग्रेस केन्द्रीय सदस्य जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन् ।
जोशी २०२० पुस २४ गते काठमाडौंमा जन्मिएका थिए। २०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा लागेका जोशीले नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेदारी सम्हालेका थिए।
राजनीति गर्ने क्रममा एक वर्ष जेल जीवन पनि बिताएका थिए। उनकी एक छोरी छिन्। त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका जोशीका बिभिन्न पत्रपत्रिकामा राजनीतिक लेखरचना प्रकाशित हुँदै आएका छन्। उनी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका संस्थापक तथा अध्यक्ष पनि थिए।