• ट्रेण्डिङ:

एमाले खोटाङभित्रको अन्तरद्वन्द्व थप चुलिँदै 

एमाले खोटाङभित्रको अन्तरद्वन्द्व थप चुलिँदै 

रोदिक खबर

१४, चैत्र २०७७
  • 5.0K
    SHARES
  • एमाले खोटाङभित्रको अन्तरद्वन्द्व थप चुलिँदै 

    खोटाङ । खोटाङमा नेकपा एमालेभित्रको अन्तरद्वन्द्व थप चुलिँदै गएको छ । एक पक्षले अर्को पक्षलाई अस्वीकार गर्ने प्रवृत्ति बढ्दै जाँदा एमालेभित्रको अन्तरद्वन्द्व थप पेचिलो बन्दै गएको हो ।

    सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्रलाई व्यूँताइदिएपछि गत फागुन २५ गते एमालेका तत्कालीन उपाध्यक्ष रामप्रसाद दंगाललाई एक पक्षले जिल्ला अध्यक्षमा मनोनयन गरेको केही समयपछि शुक्रबार तत्कालीन अध्यक्ष ववि चाम्लिङको अध्यक्षतामा अर्को पक्षको बैठक बसेको छ ।

    एमाले व्यूँतिएको अवस्थामा हालसम्म पदबाट राजीनामा नदिएको र हालसम्म कुनैपनि जिल्ला अधिबेसन नभएकाले आधिकारिक अध्यक्ष आफै रहेको दावी गर्दै आएका चाम्लिङको अध्यक्षतामा बसेको बैठकले ६७ सदस्यीय जिल्ला कमिटि विस्तार गरेको छ ।

    जिल्ला समन्वय समितिको सभाहलमा भएको बैठकले एमाले जिल्ला कमिटि उपाध्यक्षमा बम खत्री, सचिवमा जलसेर राई, उप–सचिवमा अकिल राई र आर्थिक बिभाग प्रमुखमा राजनप्रसाद आचार्यलाई चयन गरेको जनाएको छ । 

    एकले अर्को समुहलाई बेवास्ता गर्दै जाँदा जिल्लामा एमालेभित्र अघोषितरुपमा समानान्तर कमिटिको अभ्यास प्रष्ट देखिन थालेको छ । शुक्रबार कुनै समुहको बैठक नभै सर्वोच्च अदालतले व्युँताइदिएको एमाले जिल्ला कमिटिको पूर्ण बैठक बसेको चाम्लिङले दावी गरे । ‘यो एमाले जिल्ला कमिटिको बैठक हो ।

    २०७२ सालमा निर्वाचित अध्यक्ष म हुँ, मेरो अध्यक्षतामा बसेको बैठक कसरी समुहको हुन्छ ?,’ चाम्लिङले भने, ‘फागुन २३ गते सर्वोच्च अदालतले मलाई स्वतः अध्यक्षमा पुःर्नस्थापित गरिदिएको सबैलाई जगजाहेर छ । केपी ओली एमाले केन्द्रीय कमिटिको अध्यक्ष भएजस्तै म जिल्ला कमिटि अध्यक्ष हुँ ।’ 

    चाम्लिङको अध्यक्षतामा दिक्तेलमा बैठक बसिरहँदा अर्का अध्यक्ष दंगाल लगायतका नेता सामाजिक विकास मन्त्री उषाकला राईको सपथ ग्रहण कार्यक्रममा बिराटनगर पुगेका थिए ।

    चाम्लिङ नेपाल–खनाल निकट र दंगाल ओली निकटका हुन् । सर्वोच्च अदालतले साविकको एमाले र माओबादी केन्द्रलाई व्यूँताइदिएपछि फागुन २५ गते पुष्पलाल स्मृति भवनबाट नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखे लगत्तै एमाले अध्यक्षमा दंगाललाई चयन गरिएको सार्वजनिक भएको थियो ।

    तर, त्यसको भोलीपल्ट चाम्लिङले फेसबुकमार्फत एमालेको आधिकारिक अध्यक्ष आफु भएको प्रष्टिकरण दिएका थिए । त्यस यता सामाजिक सञ्जालमा कार्यकर्तादेखि नेतासम्म गुटगत पक्षपोषण र टिकाटिप्पणीमा सक्रिय देखिएका छन् । 

    साविकको एमालेको २०७२ साल बैशाख १३ गते सम्पन्न छैठौं जिल्ला अधिबेसनबाट चाम्लिङ अध्यक्ष र दंगाल उपाध्यक्षमा चुनिएका थिए । सर्वोच्चले एमालेलाई व्यूँताएकाले एमालेको तत्कालीन अध्यक्ष स्वतः आफु कायम रहेको चाम्लिङको दाबी छ ।

    नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को जिल्ला कमिटि विस्तारका क्रममा साविकको एमालेको भागमा सचिव परेपछि तत्कालीन अध्यक्ष चाम्लिङले समन्वय समिति प्रमुख तथा प्रदेश कमिटि सदस्य रहेको कारण देखाउँदै सचिवबाट राजीनामा दिएर दंगाललाई अघि सारिएको थियो । आन्तरिक द्वन्द्व व्यवस्थापन हुन नसके आगामी निर्वाचनमा एमालेले क्षती बेहोर्ने निश्चित प्रायः छ । 

    प्रकाशित मिति :चैत्र १४, २०७७ शनिवार - १४:४५:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको