बुधवार, कार्तिक १९ गते २०८३

होली पर्व शुरु, भौतिक दुरी कायम गरेर मात्र होली मनाउन प्रशासनको आग्रह

होली पर्व शुरु, भौतिक दुरी कायम गरेर मात्र होली मनाउन प्रशासनको आग्रह

रोदिक खबर

१५, चैत्र २०७७
  • 2.0K
    SHARES
  • होली पर्व शुरु,  भौतिक दुरी कायम गरेर मात्र होली मनाउन प्रशासनको आग्रह

     खोटाङ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व खोटाङमा हर्षोल्लासका शुरु भएको छ । आइतवार बिहानदेखि नै जिल्लामा बालबालिका, युवायुवती, बिभिन्न सरकारी तथा गैर–सरकारी संघसंस्थामा आवद्ध कर्मचारीले हर्षोल्लासका साथ होली मनाइरहेका छन् ।

    जिल्लाका दिक्तेल, हलेसी, बाक्सिला, ऐसेलुखर्क, सिम्पानी, खोटाङबजार, छितापोखरीबजार, बुइपा, चिसापानी लगायतका मूख्य बजारमा पिच्कारी, रंग हानेर होली पर्व मनाइरहेका छन् ।

    Holi.jpg

    वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

    तराईको पर्व मानिने होली करिब एक दशक अघिदेखि जिल्लामा मनाउन थालिएको हो । तराईबासी कर्मचारीमार्फत पहाडी गाउँमा होली मनाउने परम्परा सुरु भएको हो । घर जान नपाएका तराईबासी कर्मचारीले समुह बनाएरै होली मनाइरहेका छन् । केही वर्ष अघिसम्म उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।

    त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

    त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् ।

    निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वे्दिक महत्व पनि छ । फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ ।

    यसैबीच, जिल्ला प्रशासन कार्यालय खोटाङले भौतिक दुरी कायम गरेर मात्र होली मनाउन आग्रह गरेको छ । पुःन दिनानुदिन कोभिड–१९ को महामारी फैलिन सक्ने खतरा देखिन थालेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी बिकल श्रेष्ठले सूचना जारी गर्दै भीडभाड नगरी भौतिक दूरी कायम गरेर आ–आफ्नो घरमा बसेर परिवारका सदस्यबिचमा मात्र होली मनाउन आग्रह गरेको हो ।

    भारतमा पुःन कोभिड–१९ को संक्रमण तथा मृत्यु दर बृद्धि हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो । भिडभाड हुँदा एकबाट अर्कोमा संक्रमण सर्ने खतरा भएकाले होलीमा भिडभाड नगर्न आग्रह गरिएको प्रशासनले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १५, २०७७ आइतवार - ११:२०:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको