शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

माओवादीबाट एमालेमा गएर मन्त्री बनेका चार सांसदको दुबै पद गुम्यो

माओवादीबाट एमालेमा गएर मन्त्री बनेका चार सांसदको दुबै पद गुम्यो

रोदिक खबर

२६, चैत्र २०७७
  • 3.0K
    SHARES
  • माओवादीबाट एमालेमा गएर मन्त्री बनेका चार सांसदको   दुबै पद गुम्यो

     काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार नेताका सांसद र मन्त्री पद खोसिएको छ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी दुबै पदबाट पदमुक्त भएका हुन् ।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले निर्वाचित अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् । चारै जना माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

    उनीहरु साबिकको नेकपा विभाजित हुँदा अध्यक्ष एवं प्रधानमन्त्री  केपी शर्मा ओलीतिर लागेका थिए । सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको एकता खारेज गरेपछि पनि उनीहरु माओवादी केन्द्रमा फर्किएनन् । २८ फागुनमा एमाले अध्यक्ष ओलीले उनीहरुलाई एमाले केन्द्रीय सदस्य मनोनित गरेका थिए ।

    यसबारे माओवादी केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ प्रभु साहले मात्र दिएका थिए । साहको जवाफ चित्तबुझ्दो नभएको र अरुले जवाफ नदिएको भन्दै माओवादी केन्द्रले उनीहरुलाई दलबाट निश्कासनको कारबाही गरेको थियो । संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले चार सांसदले दल परित्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ को उपदफा १ बमोजिम गरिदिन संसद सचिवालयलाई पत्र पठाएको थियो ।

    सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धी ऐनको दफा ३५ को उपदफा १ र प्रतिनिधिसभा नियमावलीको नियम २१२ को उपनियम १ बमोजिम चार जना सांसद पदमुक्त भएको घोषणा गरे । पदमुक्त भएका चारै जना प्रत्यक्ष निर्वाचित सांसद थिए ।

    प्रकाशित मिति :चैत्र २६, २०७७ बिहिवार - २०:२७:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको