खोटाङको साकेला गाउँपालिका–५ मात्तिम बिर्ताका ९५ वर्षीय बीरबहादुर राईलाई डोकोमा बोकेर निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा पु¥याइए । दिक्तेलमा आयोजना गरिएको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा आँखाको अप्रेसन गरेपछि बीरबहादुरको आँखाको ज्योती सामान्य फर्किएको छ ।
उपचारपछि बीरबहादुर मान्छे ठम्याउन सक्ने भएका छन् । हातमा समाएर डोराउनुपर्ने अवस्थाका उनमा साहराबिनै हिँडडुल गर्ने हिम्मत पलाएको छ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाको ७४ वर्षका नैनराज राईको देब्रे आँखाले देख्न छाडेको दुई वर्ष बितेको थियो । चैत २७ गते शल्यक्रिया गरेपछि उनको आँखामा ज्योती फर्किएको छ । घरबाट डोराउँदै शिविर स्थल ल्याइएका नैनराजले पुःन सामान्य देख्न थालेका छोरी वविता राईले बताईन् ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ ओख्रेका ८७ वर्षीय निर्मला परियारको आँखाको समस्या पनि उस्तै थियो । बुढेसकाल बढ्दै–जाँदा निर्मलाको आँखाको ज्योती धमिलिदै गए । दिउँसो धमिलो हुने र साँझमा हल्का देख्ने समस्या बढेर गयो । अन्ततः आँखाको ज्योती आफन्तलाई नै चिन्न नसक्ने अवस्थामा पुग्यो । बोली सुनेर घरका छोराबुहारी, नातीनातिनी र आफन्त चिन्न पर्ने अवस्थामा पुगेकी थिईन् । उनको आँखामा तीन वर्ष अगाडिदेखि देखिएको समस्या शल्यक्रीयपछि सुधार आएको छ ।
आँखाका विभिन्न समस्याबाट पिडित भएका बिरामीको उपचारका लागि नेपाल नेत्र ज्योती संघ खोटाङले दिक्तेलमा आयोजना गरेको तीन दिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरका कारण उनीहरुजस्ता सयौं बिरामीले उपचार सेवा पाएका छन् । चैत २६ गतेदेखि चैत २८ गतेसम्म सञ्चालन गरिएको शिविरमा १ हजार ५५० जनाको आँखा जाँच तथा निःशुल्क औषधि वितरण गर्दा १८६ जनाको आँखाको शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योती संघ खोटाङका सभापति इन्द्र कसजुले बताए ।
शिविरमा ३ सय जना ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण गरिएको छ । शल्यक्रिया गरिएका १८० जना बिरामीलाई पनि चश्मा वितरण गरिएको नेपाल नेत्र ज्योती संघले जनाएको छ ।
आँखाका समस्याबाट पीडित नागरिकलाई उपचार सेवा दिने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग एबं सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर आयोजना गरिएको हो ।
निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिर जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङले डाक्टरलाई स्वागत तथा बिदाई गर्दै उदघाटन एबं समापन गरेका थिए । शिविरबाट आँखाका समस्या भएका सयौं सर्वसाधारण लाभान्वित भएको जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए ।
४२ औं नेत्र ज्योती दिवस तथा नेपाल पत्रकार महासंघको ६६ औं स्थापना दिवसको अवशरमा दिक्तेलमा चैत १३ गते ज्येष्ठ नागरिकको आँखा जाँच शिविर सञ्चालन गरिएको थियो ।