खोटाङ । आगलागी हुँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा ज्यामिरेका कुलमान चौहानको २० वटा भेडाबाख्रा मरेका छन् । सोमवार राती सवा २ बजे भएको आगलागीमा चौहानको १८ वटा बाख्रा, दुई वटा भेडा र ११ वटा कुखुरा जलेर मरेको निर्मलीडाँडाका वडाध्यक्ष हर्कराज राईले बताए ।
यस्तै, आगलागीमा एउटा व्याउने सहित दुई वटा लैनो भैंसी, दुई वटा पाडा, चार वटा भेडाबाख्रा डढेर गम्भीर घाईते भएका छन् । जलेको अवस्थामा उद्धार गरिएका चौपाया मध्ये बाँच्ने अवस्थामा नभएकाले दुई वटा पाडा काटिएको वडाध्यक्ष राईले बताए ।
यस्तै, घाईते अवस्थामा उद्धार गरिएका चारवटा बाख्रामध्ये एउटा खसी र एउटा भेडा काटिएको छ ।
पशुचौपाय, भूकम्प प्राधिकरणको अनुदानमा बनाइएको घर, घरमा भएका जिन्सी, भण्डारण गरिएको एक मुरी आलु लगायत जल्दा अन्दाजी १२ लाख ५७ हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । एकान्त ठाउँमा भएको घरमा आगलागीको कारण खुलेको छैन ।