खोटाङ । रेफर गरेका बिरामीलाई कोरोना संक्रमण पूष्टि भएपछि बन्द गरिएको जिल्ला अस्पताल खोटाङको नियमित सेवा सुचारु भएको छ ।
गत भदौ ४ गते रेफर गरेपछि पाटन अस्पताल पु¥याइएकी १६ वर्षीय बालिकालाई गत सोमबार कोरोना संक्रमण पूष्टि भएपछि जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर परीक्षणकाक्रममा आकस्मिक तथा प्रशुती बाहेकका सेवा बन्द गरेको अस्पतालले बिहिबारदेखि नियमित सेवा सुचारु गरेको हो ।
बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी सहित ५६ जनाको नमूनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि जिल्ला अस्पतालको नियमित सेवा सुचारु गराइएको जिल्ला अस्पताल खोटाङका प्रमुख रविनकुमार फुयाँलले बताए ।
बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीको पिसिआर परीक्षणका लागि मंगलबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएकामा बिहिबार नेगेटिभ रिपोर्ट आएको हो ।
भदौ २ गते जिल्ला अस्पतालमा भर्ना भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी बालिकाको स्वास्थ्यमा सुधार नआएपछि अन्यत्र रेफर गरिएको थियो ।जिल्ला अस्पतालले रेफर गरेका बिरामीलाई कोरोना संक्रमण पूष्टि भएपछि बाम्राङलाई बुधबारदेखि ‘शिल’ गरिएको छ ।
संक्रमित बालिकाको परिवारका सदस्य, घुममिल भएका छिमेकी, बिरामी ओसार–पसारमा सहयोग गरेका आफन्त तथा शिक्षक लगायत १७ जनाको पिसिआर परीक्षणका लागि बुधबार नमूना संकलन गरिएको र सो को रिपोर्ट नआएसम्मका लागि वडालाई ‘शिल’ गर्ने निर्णय गरिएको वडाध्यक्ष ललितकुमार राईले बताए ।
हालसम्म जिल्लाबाट पिसिआर परीक्षणमा पठाइएकामध्ये २१ जनालाई संक्रमण भएको पूष्टी भएको छ । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ७ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना, बराहपोखरी गाउँपालिकाका १ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । यस्तै, बिराटनगरबाट सरुवा भएर आएका ७ जना प्रहरीलाई कोरोना संक्रमण भएको पूष्टि भएको जिल्ला अस्पतालले जनाएको छ ।