काठमाडौं । नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता वितरण र नविकरणको विवरण बैशाख १५ गतेभित्र कम्युनिस्टमा इन्ट्री गरिसक्नुपर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार साँझ सम्पन्न बैठकले अन्तिम पटकका लागि म्याद थप गरेको हो । सरकारले प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेकोप्रति कांग्रेसले आपत्ति जनाएको छ । कोरोना भाइरस संक्रमण बढिरहेका बेला परीक्षण र उपचारको प्रभावकारी व्यवस्था मिलाउन समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज सम्पन्न भयो । महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गर्नु भएका देहायका प्रस्तावहरु बैठकले पारित गरेको छ ।
१. सरकारले प्रतिनिधि सभाको अधिवेशन अप्रत्याशित र हठात अन्त्य गरेको विषयलाई बैठकले गम्भीरतापूर्वक लिएको छ । वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नु पर्ने जनसरोकारका कयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति वर्खिलाप रहेको ठहर बैठकले गरेको छ । यो बैठक सरकारको स्वेच्छाचारी प्रवृतिको घोर भत्र्सना गर्दछ ।
२. बैठकले कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्व विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । विश्व बजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रुपले आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ को व्यापक र दु्रत अभियान संचालन गर्न बैठकले सरकार समक्ष जोडदार माग गर्दछ । साथै कोरोनाबाट जोगिन सर्तकताका साथ सुरक्षाका रणनीतिहरु अनिवार्य रुपले पालना गर्न आम जनतालाई समेत अपिल गर्ने निर्णय बैठकले गरेको छ ।
३. नविकरण र नयाँ क्रियाशील सदस्यताको “इन्ट्री” २०७८ वैशाख १५ गतेभित्र गरी सक्नुपर्ने अन्तिम मिति निर्धारण गरिएको छ । सो राती १२ः०० बजे कम्प्युटर सफ्टवेयरमा “इन्ट्री” हुने “सिस्टम” स्वतः बन्द गरिने छ ।
४. क्रियाशील सदस्यता नविकरण र वितरण सम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्र बमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला सम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपी, सदस्यता शुल्क र लेवी रकम लगायतका कागजात सहित जिल्लाको प्रतिवेदन २०७८ वैशाख १७ गते ५ः०० बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नु पर्नेछ ।
५. सफ्ट्वेयरमा “इन्ट्री” भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको वेवसाइटमा सार्वजनिक गर्ने व्यवस्था गर्ने ।
६. अन्य राजनीतिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेका सदस्यहरुको क्रियाशील सदस्यता समायोजन सम्बन्धमा “अन्य राजनीतिक दल समायोजन समिति” को निर्णय अनुसार केन्द्रबाट जिल्लामा पठाउन बाँकी रहेका (अन्य पार्टीबाट आएका व्यक्ति, समायोजन वा वडामा न्यूनतम संख्या नपुगेका) क्रियाशील सदस्यताका फारम बैशाख १५ गतेभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने, त्यस्ता फारम सबै प्रक्रिया पुरा गरी जिल्ला कार्यसमितिले बैशाख मसान्तभित्र केन्द्रमा पु¥याइसक्नु पर्ने र त्यसको कम्प्युटर “इन्ट्री” क्रियाशील सदस्यता छानविन समितिले नै केन्द्रमा गर्ने गरी व्यवस्था गर्ने ।
७. सिन्धुपाल्चोक र सप्तरी जिल्लामा हालसम्म क्रियाशील सदस्यताको प्रकृया शुरु नभएको एवं बारा र सोलुखुम्बुमा केही समय अघि मात्रै प्रकृया शुरु भएको हुनाले ती जिल्लाका हकमा २०७८ वैशाख मसान्तभित्र जिल्लाबाट केन्द्रको सफ्टवेयरमा “इन्ट्री” गरी सक्नु पर्ने ।

