खोटाङ । कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई मंगलबारदेखि दोस्रो डोज दिन सुरु गरिएको छ । पहिलो चरणमा कोभिड–१९ विरुद्ध पहिलो खोप लगाएका व्यक्तिलाई दोश्रो डोज दिन सुरु गरिएको हो ।
यसअघि पहिलो खोप लगाइसकेका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई दोश्रो डोज खोप दिएर दोश्रो खोप लगाउने अभियान सुरु गरिएको हो । अनमी शुशिला आचार्य (बस्नेत) ले प्रमुख जिल्ला अधिकारी शर्मालाई दोश्रो खोप लगाइदिएकी थिईन् । पहिलो चरणमा पहिलो डोज खोप लगाएका व्यक्तिलाई मंगलबारदेखि आगामी बैशाख ११ गतेसम्म दोश्रो डोज खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।
खोप बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म लगाइने जनाइएको छ । दोश्रो खोप लगाउनका लागि जिल्ला अस्पताल, ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र केपिलासगढी गाउँपालिकामा खोप केन्द्र निर्धारण गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र साकेला गाउँपालिकाका लागि भने जिल्ला अस्पताल दिक्तेलबाट दोश्रो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।
पहिलो चरणमा खोटाङका १ हजार ७६१ जनाले कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप लगाएका थिए । गत माघ १५ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको खोप अभियानकाक्रममा ६९१ जना र फागुन २ गतेदेखि ११ गतेसम्म सञ्चालन गरिएको अभियानकाक्रममा १ हजार ७० जनाले कोभिशिल्ड खोप लगाएका थिए ।