खोटाङ । हाल यूके आर्मीमा कार्यरत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका सञ्जिव राईले मिर्लौला फेल भएका, शारीरिक रुपमा अशक्त र अपांग लगायत चार स्थानीयलाई आर्थिक सहयोग गरेका छन् ।
यूके आर्मी राईले दुबै मिर्गौला फेल भएपछि हाल काठ्माण्डौंमा उपचार गराइरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका तेजबहादुर खड्का, जन्मजात कान नसुन्ने र मुख नलाग्ने (लाटो) ढुण्डिराज राई र दिलबहादुर राई तथा मलेसियाबाट अलपत्र अवस्थामा उद्धार गरेर घर फर्काइएका बालकुमार परियारलाई आर्थिक सहयोग गरेका हुन् ।
यूके लाहुरे राईले आफ्नो गुरु बालबालिका आधारभूत विद्यालय कर्कले दोर्पाचिउरीडाँडाका प्रअ कोमल ढकालमार्फत अशक्त र असहायको नाममा सहयोग रकम पठाएका हुन् ।
यूके लाहुरे राईले पठाएको ४४ हजार २२५ रुपैयाँमध्ये दुवै मिर्गौला फेल भएका तेजबहादुरलाई ११ हजार २२५ रुपैयाँ तथा ढुण्डिराज, दिलबहादुर र बालकुमारलाई जनही ११ हजार प्रदान गरिएको बालबालिका आधारभुत विद्यालयका प्रअ ढकालले बताए ।
यूके लाहुरेले पठाएको सहयोग रकम मंगलबार वडा कार्यालय दोर्पाचिउरीडाँडामा वडाध्यक्ष महन्त राईको हातबाट सम्वन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको स्थानीय तथा नेविसंघका नेता प्रतिक आचार्यले जानकारी दिए ।
सहयोग पाउनेमध्येका बालकुमारलाई केही समय अघि मलेसियाबाट उनै यूके लाहुरे सञ्जिवले उद्धार गरेर स्वदेश फर्काएका थिए । बैदेसिक रोजगारीका सिलसिलामा मलेसिया पुगेको अवस्थामा अलपत्र परेपछि यूके लाहुरे राईले १ लाख २० हजार पठाएर बालकुमारको उद्धार गरेका थिए ।
उद्धार गरेर घर फर्किएका बालकुमारको घरमा खाद्यान्न लगायतको व्यवस्था गर्नका लागि यूके लाहुरे राईले पुःन ११ हजार सहयोग पठाएका हुन् । यूके लाहुरे राईले आफ्नो गाउँ–ठाउँको सामाजिक सेवामा सहयोग गर्दै आएका छन् । उनले विद्यालयका लागि समेत सहयोग गर्दै आएको बताइएको छ । प्रअ ढकालले अशक्त, अपांग तथा दिर्घ रोगीको नाम र तस्बिर पठाएको आधारमा यूके लाहुरे सञ्जिवले सहयोग गर्ने गरेका छन् ।