शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

कोरोना भाइरस विरुद्ध सचेतना फैलाउन मातहतका कमिटिलाई एमालेको निर्देशन 

कोरोना भाइरस विरुद्ध सचेतना फैलाउन मातहतका कमिटिलाई एमालेको निर्देशन 

रोदिक खबर

२०, बैशाख २०७८
  • 3.6K
    SHARES
  • कोरोना भाइरस विरुद्ध सचेतना फैलाउन मातहतका कमिटिलाई एमालेको निर्देशन 

    खोटाङ । नेकपा एमाले खोटाङले नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा न्यूनीकरणका लागि सचेतना फैलाउन मातहतका कमिटिलाई निर्देशन दिएको छ ।

    सोमबार प्रेस विज्ञाप्ती जारी गर्दै एमालेले विभिन्न सचेतना फैलाउँदै कोरोना रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन मातहतका कमिटिलाई निर्देशन दिएको हो ।

    एमाले अध्यक्ष रामप्रसाद दंगालले जारी गरेको विज्ञाप्तीमा महामारीका बेला आफ्नो ज्यान जोखिममा राखेर बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई धन्यवाद दिँदै कोरोना विरुद्ध सचेतना फैलाएर उनीहरुको मनोवल उच्च पार्ने खालको क्रियाकलापमा परिचालन हुन जिल्ला कमिटि, नगर कमिटि, गाउँ कमिटि, वडा कमिटि, टोल कमिटि र जनवर्गीय संगठनलाई भनिएको छ । 

    एमालेले कोभिड–१९ बाट बच्न र बचाउनका लागि सरकारले जारी गरेको मापदण्डको पालना गर्न सबैलाई आग्रह गरेको छ । विज्ञाप्तीमा कोभिड–१९ को महामारी फैलिरहेको जोखिमपूर्ण अवस्थामा धेरै संख्यामा भेला हुने, भिडभाड गर्ने, बैठक, प्रशिक्षण, छलफल, विवाह, ब्रतबन्ध, धार्मिक तथा साँस्कृतिक कार्यहरु जस्ता गतिविधि गर्दा सरकारले तोकेको मापदण्ड पालना गर्दै तोकिएको संख्यामा भन्दा बढि भिडभाड नगर्न, अनिवार्य रुपमा दुरी कायम गर्न तथा मास्क र सेनिटाइजरको प्रयोग गरेर मात्र यस्ता कार्य गर्न÷गराउन आग्रह गरिएको छ ।

    ‘यो संक्रमण फैलिन नदिन सावधानी, सचेतना र जनस्वास्थ्यका मापदण्डहरु पुरा गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ,’ विज्ञाप्तीमा भनिएको छ, ‘यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले अथक प्रयास गरिरहेको छ । संक्रमितको संख्या, आवत–जावत हेरेर लकडाउन, निषेधाज्ञा समेत गर्नुपर्ने यो अवस्थामा सरकारलाई सहयोग गर्नु आम नागरिकको दायित्व पनि हो ।’ 

    प्रकाशित मिति :बैशाख २०, २०७८ सोमवार - २१:००:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको