बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेको जिप दुर्घटना भएको छ। सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा नम्बर ६ का वडा सदस्य गोबिन्द भण्डारीको शव बोकेर रोडिदेवलबाट सदरमुकामतर्फ आउँदै गरेको जिप दुर्घटना भएको हो।
सोही गाउँपालिका वडा नम्बर ६ को गणनेश्वर मन्दिर नजिक से १ ज १८३ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख हरिशरण भट्टले जिप सडकबाट करिव पाँच सय मिटर तल खसेको छ। भट्टका अनुसार जीप दुर्घटना हुँदा स्थानीय ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको हो।
जिप चालक तेज बहादुर बोहराको उपचारको लागि अस्पताल ल्याउँदै गर्दा मुत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ।