खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरोको समस्या भएपछि तीन दिनअघि जिल्ला अस्पतालमा भर्ना भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका एक दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
औषधि दिँदा पनि ज्वरोको मात्रा नघटेपछि मंगलबार गरिएको एन्टीजेन परीक्षणमा दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले बताए ।
श्रीमान बिरामी भएपछि कुरुवाका रुपमा आएकी श्रीमतीलाई पनि कोभिड–१९ को संक्रमण देखिएको हो । लक्षणका आधारमा शंका लागेपछि एन्टीजेन परीक्षण गर्दा कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको डा. मल्लिकले बताए ।
दम्पत्ती हालसम्म गाउँबाट कतै नगएको र ट्राभल हिस्ट्री समेत नहुनुले कोरोनाको महामारी गाउँ–गाउँमा पुगेको संकेत गरेको छ । ‘औषधि दिँदा पनि ज्वरो घटेन । थकान महसुस भइरहेको समस्या देखियो,’ डा. मल्लिकले भने, ‘लक्षणका आधारमा शंका लागेपछि चेक गर्दा कोभिड–१९ भएको पुष्टि भएको हो ।’
यससँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कोरोना संक्रमितको संख्या चार पुगेको छ । मंगलबार गरिएको एन्टीजेन परीक्षणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाण्डे थरका एक जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गुरुङ थरका एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
जिल्ला अस्पताल खोटाङमा चार जनाको एन्टीजेन परीक्षण गर्दा दुई जनालाई कोभिड–१९ पुष्टि भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । संक्रमण पुष्टि भएका दुबै पुरुषलाई होम आइसोलेसनमा राखिएको छ ।
पाण्डे थरका पुरुष भने केही समयअघि आफन्तको विवाहमा भारत पुगेर फर्किएको जनाइएको छ । गुरुङ भने मेयर रिजालकै चालक हुन् । दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य व्यक्तीको पनि एन्टीजेन परीक्षण गर्ने तयारी गरिएको नगरप्रमुख रिजालले बताए ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकको निर्णय अनुसार मंगलबारदेखि जिल्ला अस्पतालमा एन्टीजेन परीक्षण सुरु गरिएको हो ।
सोमबार साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका दुई पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।