खोटाङ । विद्युतको पोलबाट करेन्ट लाग्दा खोटाङमा एक बालकको मृत्यु भएको छ । माटी फुटेर पोलमा प्रवाह भएको करेन्ट लाग्दा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका १० वर्षीय बालक टिकीहाङ राईको मृत्यु भएको हो ।
हाइटेन्सनलाईनको तारले पोललाई छोएपछि पोलमा प्रवाह भइरहेको करेन्ट लाग्दा बुधबार बिहान बालकको घट्नास्थलमै मृत्यु भएको हो ।
कात्तिकेस्थित फुपुको घर जानेक्रममा साविकको धितुङ–३ र धितुङ–४ को बिचमा पर्ने भँगेरी जंगलमा सडकको डिलमा रहेको पोलमा लिक भएको करेन्टले बालकको ज्यान लिएको वडाध्यक्ष पृथ्बीराज राईले बताए । टिकीहाङलाई करेन्ट लागेपछि उनीसँगै रहेका अर्का बालकले परिवारलाई खबर गरेका थिए ।
बालक बुलापन्थे माबिमा कक्षा ४ मा अध्ययनरत थिए । काठ्माण्डौंमा रहेका उनी गत वर्षको लकडाउनमा गाउँ आएर बुलापन्थे माबिमा भर्ना भएका थिए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।