खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा स्वास्थ्यकर्मी सहित थप ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । एक दिनअघि चार जनालाई संक्रमण पुष्टि भएको नगरपालिकामा बुधबार जिल्ला अस्पतालमा कार्यरत एक जना महिला स्वास्थ्यकर्मी र खाद्य संस्थानमा कार्यरत एक जना पुरुष कर्मचारी सहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाण्डे थरका एक जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गुरुङ थरका एक जना पुरुष र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका एक दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका तथा जोखिममा परेको आशंकामा गरिएको एन्टिजेन परीक्षणबाट जिल्ला अस्पतालमा कार्यरत ३५ वर्षीय अहेव (महिला), खाद्य संस्थानमा कार्यरत २५ वर्षीय पुरुष कर्मचारी, सोल्माका एकै परिवारका २७ वर्षका पुरुष, २७ वर्षकै महिला र २० वर्षका महिला तथा खाल्लेका १९ वर्षका पुरुषलाई संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन एवं जनस्वास्थ्य अधिकृत आनन्द लामीछानेले बताए ।
एकै दिन चार संक्रमित फेला परेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल सहित ३९ जनाको एन्टिजेन परिक्षण गर्दा ६ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो । यससँगै दिक्तेल नगरपालिकामा मात्र संक्रमितको संख्या १० पुगेको छ । मंगलबार संक्रमण पुष्टि भएका गुरुङ थरका पुरुष र बुधबार संक्रमण पुष्टि भएका सोल्माका तीन जना एकै परिवारका हुन् ।
यसले एउटै परिवारका चार जना संक्रमित भएको देखाएको छ । संक्रमित गुरुङ चालक हुन् । एन्टीजेन परीक्षणमा नगरप्रमुख रिजालको रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमण पुष्टी भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाले उनीहरुलाई होम आइसोलेसनमा राखिएको नगरप्रमुख रिजालले बताए ।