खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कोभिड–१९ को महामारीका बेला पालिका प्रवेश गर्ने व्यक्तिका लागि पिसिआर परीक्षण रिपोर्ट अनिवार्य गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका अध्यक्ष एवं कोभिड संक्रमण तथा नियन्त्रण कार्यदलका संयोजक भुपेन्द्र राईको संयोजकत्वमा बुधबार बसेको बैठकले कोभिड–१९ को महामारीको अवधिमा पालिका वा जिल्ला बाहिरबाट आउने जो सुकैलाई अनिवार्य ७२ घण्टाभित्रको पिसिआर परिक्षण गरेको रिपोर्ट पेश गरेपछि मात्र पालिका प्रवेश गर्ने अनुमति दिने निर्णय गरेको हो ।
पिसिआर परिक्षण गरेको रिपोर्ट पेश गरेर पालिकाभित्र प्रवेश गर्ने व्यक्तिले थप १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
बैठकले दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा स्थापित अस्थायी कोभिड अस्पतालमा बनाइएको १२ बेडको आइसोलेसन सेन्टरमा १३ बेड थप गरी अक्सिजन सहितको २५ बेडको आइसोलेसन सेन्टर बनाउने, कोरोना भाइरस(कोभिड–१९) को संक्रमणको लक्षण देखिएका नागरिकले अनिवार्य रुपमा गाउँपालिकाको अस्थायी कोभिड अस्पताल याम्खामा गएर स्वाब संकलन गराउनुपर्ने निर्णय गरेको छ ।
यस्तै, गाउँपालिकाका सम्बन्धित वडाको वडाध्यक्षको संयोजकत्वमा एक सक्रिय कोभिड वडा समन्वय समिति गठन गर्ने, कोभिड वडा समन्वय समितिले महिला स्वयम सेविकाको संयोजकत्वमा साविकका प्रत्येक वडामा कोभिड समन्वय उप–समिति गठन गर्ने निर्णय गरिएको छ ।
बैठकले जिल्ला भन्दा बाहिरका जिल्ला वा विदेशबाट आएका व्यक्तिको अभिलेखिकरण सम्बन्धित कोभिड वडा समन्वय समितिले गर्ने र हरेक दिनको तथ्याङ्क गाउँपालिकाका स्वास्थ्य शाखा संयोजकलाई उपलब्ध गराउनु पर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक अहमद मन्सुरीले जारी गरेको सूचनामा उल्लेख छ ।