खोटाङ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खोटाङको साकेला गाउँपालिकाले स्वास्थ्य सुरक्षा सम्वन्धी ६ बुँदे ‘हेल्थ टिप्स’ जारी गरेको छ ।
गाउँपालिकाले महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को संक्रमणबाट बच्नका लागि पालिकाका सरकारी तथा गैर–सरकारी संस्था, वित्तिय संस्था, वडा कार्यालय, स्वास्थ्य संस्था, प्रहरीचौकी, टोल सुधार समिति, आमा समुह, विभिन्न संघसंस्था, महिला स्वास्थ्य स्वयंसेविका, फ्रन्टलाइनमा खटिने कर्मचारी एवं सर्मत पालिकावासीलाई स्वास्थ्य सुरक्षा सम्वन्धी सचेतता अपनाउन आग्रह गरेको छ ।
गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले जारी गरेको अपिलमा पसल, कार्यालय लगायतका ठाउँमा जाँदा अनिवार्य मास्क प्रयोग गर्न, कम्तीमा एक आपसमा दुई मिटर भौतिक दुरी कायम गर्न, आँखा, नाक, मुखमा अनावश्यक हात नलगाउन अपिल गरिएको छ ।
यस्तै, कम्तीमा २० सेकेण्डसम्म साबुन पानीले मिचिमिचि हात धुन, विदेश तथा काठ्माण्डौं, बिराटनगर लगायतका सम्पूर्ण जोखिम क्षेत्रबाट आएका व्यक्तिलाई अनुशासित तवरले कम्तिमा १० दिन होम क्वारेन्टिनमा बस्न र स्वास्थ्यमा कुनै समस्या आएमा नजिकको स्वास्थ्य संस्थामा सम्वर्क गर्न भनिएको छ ।