खोटाङ । खोटाङमा एकै दिन १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । साकेला गाउँपालिकाका ६ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
कोभिड–१९ को संक्रमण पुष्टि भएका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका खत्री थरका ५३ वर्षीय र रोका थरका २० वर्षीय पुरुषको प्रत्यक्ष सम्पर्कमा पुगेको कन्ट्याक्ट ट्रेसिङका आधारमा ६० जनाको स्वाव पिसिआर परीक्षणमा पठाइएकोमा चार महिला र दुई पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
साकेला गाउँपालिका–५ मात्तिमका ढकाल थरका ५२ वर्षीय महिला, साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका बस्नेत थरका २० वर्षीय महिला, बस्नेत थरकै १७ वर्षीय महिला, राई थरका ३५ वर्षीय पुरुष, साकेला गाउँपालिका–२ रतन्छाका खत्री थरका १९ वर्षका पुरुष र बिष्ट थरका २५ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए ।
जिल्ला भित्रिनेक्रममा संक्रमितसँगै यात्रा गरेका, गाउँमा भेटघाट भएका र सम्पर्कमा पुगेका व्यक्तिको पिसिआर परीक्षणका लागि संकलन गरिएको ६० जनाको नमूना बुधबार प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएकोमा शुक्रबार ६ जनाको रिपोर्ट पोजिटिभ आएको हो । यससँगै साकेलामा संक्रमितको संख्या ८ पुगेको छ ।
साकेलामा २६ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरेर बैशाख १८ गते प्रादेशिक जनस्वास्थ्य कार्यालय बिराटनगर पठाइएकोमा बैशाख २० गते दुई जनाको पोजिटिभ रिपोर्ट आएको थियो । संक्रमित फेला परेसँगै बाँझेच्यानडाँडालाई सिल गरिएको छ ।
यसअघि ९ जनालाई संक्रमण पूष्टी भइसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बिहिबार पाँच जनाको एन्टीजेन परिक्षण गर्दा चार जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ३६ वर्षका पुरुष, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १८ वर्षका पुरुष, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ३८ वर्षीय महिला र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३२ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको कोभिड फोकल पर्सन एवं स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत आनन्द लामीछानेले बताए ।
चार जना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी र एक जना दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका चालक छन् । दुई जना भने काठ्माण्डौंबाट केही समयअघि गाउँ आएको खुलेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए । यससँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा संक्रमितको संख्या १३ पुगेको छ ।
जिल्लाभर कोरोनाबाट संक्रमितको संख्या २२ पुगेको छ । जनस्वास्थ्य अधिकृत लामीछानेका अनुसार यसअघि जन्तेढुंगा गाउँपालिकामा एक जनालाई पनि कोरोना संक्रमण पूष्टी भइसकेको छ । पछिल्लो समय जिल्लामा दिनानुदिन कोभिड–१९ संक्रमित भेटिन थालेका छन् ।
पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ । नगरपालिकाका संक्रमितमध्ये दुई जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा तथा अन्यलाई होम आइसोलेसनमा राखिएको नगर प्रमुख रिजालले बताए ।