खोटाङ । तीन वडामा कोभिड–१९ बाट संक्रमित भेटिएपछि खोटाङको साकेला गाउँपालिकालाई सिल गरिएको छ । काठ्माण्डौं र चितवनबाट घर आएका साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा ६० जनाको पिसिआर परिक्षण गर्दा थप ६ जनालाई संक्रमण पुष्टि भएपछि कोभिड संकट व्यवस्थापन समितिको शनिबार बसेको बैठकले हप्ता दिनका लागि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो ।
कोभिड संकट व्यवस्थापन समितिका संयोजक एवं गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काको अध्यक्षतामा बसेको बैठकले गाउँपालिका प्रवेशमा कडाई गर्ने, अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, सिमा तथा नाकामा स्वास्थ्यकर्मी सहितको हेल्थडेस्क स्थापना गर्ने, औषधि, खाद्यान्न र इन्धन पसल बाहेकका किराना पसल, होटल लगायतका व्यपार व्यवसाय बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए ।
गाउँपालिकाभित्रका खाद्यान्न तथा इन्धन पसल दैनिक बिहान ८ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म खुलाउने निर्णय गरिएको छ । यस्तै, साकेला गाउँपालिका–२ रतन्छामा रहेको अस्थायी कोभिड–अस्पतालमा बनाइएको २० शैयाको आइसोलेसन सेन्टरलाई ५० बेडको बनाउने निर्णय गरिएको छ ।
गाउँपालिकाले बढिमा १० जनाको उपस्थितिमा मात्र बिवाह, ब्रतबन्ध, पास्नी, देवाली जस्ता धार्मिक तथा साँस्कृतिक कार्यक्रम गर्ने/गराउने, त्यस्ता कार्यक्रममा गाउँपालिकाभन्दा बाहिरका आफन्तलाई नबोलाउने, बोलाउनै परे पिसिआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट लिएर मात्र आउनका लागि निमन्त्रणा गर्ने/गराउने निर्णय गरेको जनाएको छ ।
गाउँपालिकाका सिमा नाकामा स्थापना गरिने हेल्थडेस्कमा एक जना स्वास्थ्यकर्मी र एक जना शिक्षकलाई खटाउने तयारी गरिएको छ । महामारीकाबेला शिक्षकलाई कोभिड–१९ सम्वन्धी सूचना संकलन र अपडेट गराउने श्रोतव्यक्तीको भूमीका दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष खड्काले बताए ।
संक्रमितसँगै यात्रा गरेका, गाउँमा भेटघाट भएका र प्रत्यक्ष सम्पर्कमा पुगेका ६० जनाको स्वाव प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएकामा शुक्रबार साकेला गाउँपालिका–५ मात्तिमका ढकाल थरका ५२ वर्षीय महिला, साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका बस्नेत थरका २० वर्षीय महिला, बस्नेत थरकै १७ वर्षीय महिला, राई थरका ३५ वर्षीय पुरुष, साकेला गाउँपालिका–२ रतन्छाका खत्री थरका १९ वर्षका पुरुष र बिष्ट थरका २५ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको थियो ।
यस्तै, कोभिड–१९ बाट संक्रमित भेटिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेलाई सिल गरिएको छ । उपचारका लागि जिल्ला अस्पतालमा भर्ना भएका दम्पत्ती सहित तीन जनालाई कोरोना संक्रमण पुष्टि भएपछि बैशाख २२ गते राती १२ बजेदेखि हप्ता दिनका लागि वडालाई सिल गरिएको वडाध्यक्ष डिल्ली चाम्लिङले बताए ।
हाल वडा क्षेत्रभित्रको एक टोलबाट अर्को टोलमा आवत जावत गर्न, अत्यावश्यक बाहेकका काममा हिँडडुल गर्न रोक लगाइएको छ । यस्तै, निर्माणका काममा पनि हप्ता दिनका लागि रोक लगाइएको वडाअध्यक्ष चाम्लिङले बताए ।
यस्तै, स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पूष्टी भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पनि सिल गरिएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका सवै व्यक्तिको एन्टीजेन परीक्षण नसकिएसम्मका लागि खाद्यान्न पसल दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खुला गर्ने, होटल, खाजा पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष भीम राईले बताए ।
वडा कार्यालयले नुनथलामा सुरक्षा जाँचका लागि बाहेक कुनै पनि सवारी साधन पार्किङ गर्न नदिने, अन्यत्रबाट आएका व्यक्तिलाई अनिवार्य १५ दिन होम क्वारेन्टिनमा राख्ने, धार्मिक तथा साँस्कृतिक कार्यक्रममा १५ जनाभन्दा बढि भेला हुन नपाइने लगायतका सूचना जारी गरेको छ ।
यस्तै, संक्रमित भेटिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा पनि कडाई गरिएको छ । वडाबासीलाई आ–आफ्नो घरमै सुरक्षित साथ बस्न र अतिआवश्यक काम परेर घर बाहिर निस्कन परेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर निस्कन आग्रह गरिएको वडाध्यक्ष दिनेश राईले बताए ।