• ट्रेण्डिङ:

तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भयो : पूर्व प्रधानमन्त्री देउवा

तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भयो : पूर्व प्रधानमन्त्री देउवा

रोदिक खबर

२७, बैशाख २०७८
  • 2.1K
    SHARES
  • तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भयो : पूर्व प्रधानमन्त्री देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वर्षमा सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् । विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले सरकार गठन भएको तीन वर्षमा नै विश्वासको मत माग्ने अवस्था आउनुमा प्रधानमन्त्री स्वयं जिम्मेवार रहेको बताए ।

    प्रधानमन्त्रीलई कार्यकारी प्रमुखको हैसियतले सम्पूर्ण अधिकार दिएको भन्दै उनले भने, ‘देश र जनताको हितमा काम गर्न कसले कहाँ रोक्यो ?’ प्रमुख प्रतिपक्षी पार्टीका रुपमा आफ्नो दलले रचनात्मक र सहयोग भूमिका खेल्दा आलोचित हुनु परेको उनले बताए ।

    ‘आफू कार्यकारी प्रमुख हुने अनि अरुमाथि दोष थोपर्ने ?’ देउवाले भने, ‘अरुमाथि दोष र गुनासो थोपरेर जिम्मेवारीबाट प्रधानमन्त्री भाग्न पाउनुुहुन्छ ?’ ‘म प्रधानमन्त्रीलाई के आग्रह गर्न चाहन्छु भने मानिस दुनियाँबाट भाग्न सक्छ, आफैंबाट भाग्न सक्दैन । एक पटक छातिमा हात राखेर भन्नुस्, यो अवस्था तपार्इंले सिर्जना गर्नु भएको अंकगणित दम्भ, कुशासन र भ्रष्टाचारका कारण होइन ?’

    आफूहरूले रचनात्मक रूपमा प्रधानमन्त्रीलाई सहयोग गरेबापत आलोचित हुनुपरेको उनले बताए । र, अरूमाथि दोष थुपारेर प्रधानमन्त्री भाग्न खोजेको बताए ।

    बिरामी अक्सिजन नपाएर छटपटिँदै ज्यान गुमाउनु परिरहेको उनले बताए । एक वर्षदेखि कोभिड–१९ को व्यवस्थापनमा सरकारले केही नगरेको देउवाले बताए । आफूहरूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले नसुनेको बताए ।

    अहिले नेपाल विश्वमै कोभिड–१९ को उच्च जोखिममा रहेको सूचीमा राखिनुको दोषी सरकार नै रहेको बताए ।

    बेलैमा सरकारले खोप ल्याउन नसकेको र कमिसनको खेलका कारण खोप आउन नसकेको सार्वजनिक भइरहेको औँल्याए । जनताको जीवनदायिनी खोपमा भ्रष्टाचार गरेर सरकारको नांगो चरित्र उदांगो भइसकेको उनले बताए । अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको औँल्याए । र, इतिहासले प्रधानमन्त्रीलाई माफी नगर्ने बताए ।

    आत्मरति र आत्मप्रशंसामा प्रधानमन्त्री रमाएको सभापति देउवाले बताए । प्रतिनिधिसभाको सभामुख र उपसभामुख अलग–अलग दलको हुनुपर्ने संवैधानिक व्यवस्थालाई प्रधानमन्त्रीले लत्याएको बताए । र, उपसभामुखको पद नै खाली राखिएको उनले औँल्याए ।

    प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - १५:००:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको