खोटाङ । कोभिड–१९ को दोश्रो लहरको महामारीलाई लक्षित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य कार्यालय खोटाङमा करिब चार लाखको स्वास्थ्य सामग्री ल्याइएको छ । स्वास्थ्य मन्त्रालयबाट एमालेका प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य विशाल भट्टराईमार्फत कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने ३ लाख ९९ हजार ८३३ मूल्यको स्वास्थ्य सामग्री ल्याइएको हो ।
आफ्नो जिल्लाका लागि केही दिनअघि स्वास्थ्य मन्त्रालय पुगेर मास्कदेखि अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री बुझेका एमालेका प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य भट्टराईले बुधवार स्वास्थ्य सामग्री दिक्तेल ल्याएर स्वास्थ्य कार्यालय खोटाङका निमित्त प्रमुख छवि आचार्यलाई हस्तान्तरण गरेका छन् ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा औजार उपकरण स्टोरबाट २ लाख २२ हजार १८७ रुपैयाँको १० थान इन्फ्रारेड थर्मोमिटर, १० थान पल्स अक्सिमिटर स्पट चेक, २ थान अक्सिजन कन्सन्ट्रेटर, २ थान अक्सिजन सिलिण्डर र सानो साईजको ५ थान अक्सिजन सिलिण्डर ल्याइएको छ ।
यस्तै, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट १ लाख ५५ हजार ५१५ रुपैयाँको दुई सय सेट एन्टीजेन किट र एक हजार आठ सय पिस भिटिएम ल्याइएको एमालेका प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य भट्टराईले बताए ।
स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य सेवा विभागबाट २२ हजार १३१ रुपैयाँ बराबरको २ हजार थान सर्जिकल मास्क, एक सय थान गाउन, एक सय थान एम ९५ मास्क, पाँच सय एमएलको १० बोत्तल सेनीटाइजर र एक सय जोर पञ्जा आइपुगेको छ । संकटको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर जिल्लाका लागि स्वास्थ्य सामग्री ल्याउन पहल गरेको भन्दै सामाजिक सञ्जालमा प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य भट्टराईको प्रशंसा भइरहेको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, एमालेका नेता कुमार आचार्य, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।