काठमाडौं । नेकपा एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि १० सदस्य रहेको कार्यदल गठन गरिएकाे छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच आइतबार भएकाे भेटवार्तामा १० सदस्यीय कार्यदल बनाउने सहमति भएकाे हाे।
कार्यदलमा दुवै पक्षका ५/५ जना सदस्य रहने निर्णय भएकाे नेता नेपालले जानकारी दिए। कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।
‘जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि कार्यदल बनाइएको छ । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएकाे भएपनि आवश्यकता अनुसार थप्न सकिने नेता नेपालले बताए। दिउँसो १ बजे देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता सुरु भएकाे हाे।