खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल वडा कार्यालयले कोभिड–१९ बाट संक्रमितलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । कोभिड–१९ बाट संक्रमण पुष्टि भएपछि हाल होमआइसोलेसनमा वसिरहेका संक्रमितलाई वडा कार्यालयले मास्क र सेनिटाइजर वितरण गरेको हो ।
वडा कार्यालयकै बजेटबाट खरिद गरेर १५ संक्रमितलाई घर–घरमा पुगेर जनही एक बोत्तल सेनिटाइजर र १० वटा मास्क वितरण गरिएको दिक्तेलका वडा सदस्य प्रकाश श्रेष्ठले बताए ।
संक्रमित होमआइसोलेसनमा बसिरहेको बेला अन्यलाई संक्रमण सर्न नदिनका लागि वडा कार्यालयले स्वास्थ्य सामग्री प्रदान गरेको हो । क्रमशः अन्य संक्रमितलाई पनि स्वास्थ्य सामग्री वितरण तयारी गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष टंकप्रसाद आचार्य, वडा सदस्य श्रेष्ठ, महिला वडा सदस्य अञ्जना बस्नेत, वडासचिव रेखा राई लगायतको टोलीले घर–घरमा पुगेर संक्रमितका आफन्तमार्फत मास्क र सेनिटाइजर वितरण गरेको हो । वडा कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पनि ३ लिटर सेनिटाइजर र २ सय थान मास्क प्रदान गरेको छ ।