खोटाङ । खोटाङका कांग्रेस नेता चौकबहादुर राईको निधन भएको छ । लोकतान्त्रिक विचार र आदर्शप्रति समर्पित हुँदै पार्टीभित्र इमान्दार, अनुशासित, निष्ठावान र गतिशील व्यक्तित्वको छवी बनाएका राईको मंगलबार बिहान ८६ वर्षको उमेरमा निधन भएको हो ।
साकेला गाउँपालिका–३ खिदिमा निवासी राईको निधनमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले विज्ञाप्तिमार्फत शोक व्यक्त गरेको छ । २०५४ सालको निर्वाचनमा कांग्रेसकातर्फबाट गाविस अध्यक्षमा निर्वाचित राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बनेका थिए ।
साकेला आधारभुत विद्यालयको २०५२ सालदेखि हालसम्म विव्यास अध्यक्ष रहेका राईको निधनले सिंगो कांग्रेसलाई अपूरणीय क्षति पुगेको कांग्रेसका क्षेत्रीय सभापति तीर्थराज भट्टराईले जारी गरेको विज्ञाप्तिमा उल्लेख छ ।
राई १९९२ साल माघ १० गते जन्मिएका थिए । गाउँको सामाजिक तथा विकास निर्माणका सवालमा पनि उनको योगदान महत्वपूर्ण रहेको कांग्रेसले जनाएको छ ।