खोटाङ । जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट खरिद तथा जडान प्रक्रियाका लागि अर्थमन्त्रालयले ७५ लाखको सहमति दिएको छ । कोभिड–१९ को महामारीका बेला संक्रमितलाई आवश्यक अक्सिजनको व्यवस्थाका लागि जिल्लामै अक्सिजन उत्पादनका लागि स्वास्थ्य मन्त्रालयको माग बमोजिम अर्थमन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरिद जडान प्रक्रिया अघि बढाउन सहमति दिएको हो ।
अर्थमन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति तथा योजना शाखालाई जेठ ६ गते दिएको सहमतिसँगै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बाटो खुलेको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको गत बैशाख ३१ गते बसेको बैठकले कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै जिल्लामा अक्सिजन प्लान्ट तथा पिसिआर मेसिन खरिद तथा व्यवस्थापनका लागि जिल्ला अस्पतालका डा. बैभव मल्लिकको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदल बनेसँगै स्वास्थ्य कार्यालय खोटाङले अक्सिजन प्लान्ट स्थापनाका लागि एक करोड निकासाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष रकम माग गरेको थियो ।
अर्थमन्त्रालयले खोटाङ सहित १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा जडान एवं हाइ डिपिडेन्सी यूनिट (एजडियू) बेड जडान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १७ करोड ८७ लाख ७० हजार बजेटको सहमति दिएको छ ।
अर्थमन्त्रालयले भक्तपुर क्यान्सर अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि २ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि २ करोड र २५ शैयाको एचडियू बेड विस्तारका लागि ३ करोड १२ लाख ७० हजार, चरिकोट अस्पतालमा ५ शैयाको एचडियू जडानका लागि ८० लाख र अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि ७५ लाख, जिरी अस्पतालमा एचडियू बेड बिस्तारका लागि ८० लाख, बझाङ अस्पतालमा ५ बेडको एचडियू विस्तारका लागि ८० लाख र अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि ७५ लाख, डोटी अस्पतालमा ५ बेडको एचडियू बेड विस्तारका लागि ८० लाखको प्रक्रिया सुरु गर्न भनेको छ ।
यस्तै, अक्सिजन प्लान्ट खदि तथा जडानका लागि बाजुरा अस्पताल, अछाम अस्पताल, सोलुखुम्बु अस्पताल, ताप्लेजुङ अस्पताल, सूर्यबिनायक नगरपालिका अस्पताललाई ७५/७५ लाख तथा मदन भण्डारी अस्पताल ट्रमा सेन्टरमा ५ बेडको एचडियू बेड बिस्तारका लागि ८० लाख र अक्सिजन प्लान्ट खदि तथा जडानका लागि ७५ लाख उपलव्ध गराउने भएको छ ।