खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आइसोलेसनमा बस्ने संक्रमित, उनीहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मी, गाउँ प्रहरी र एम्बूलेन्स चालकलाई निःशुल्क खाना र खाजाको व्यवस्था गरेको छ ।
स्वास्थ्यमा जटिल समस्या भएपछि गाउँपालिकाले बनाएको आइसोलेसन सेन्टरमा आइपुगेका संक्रमित तथा तिनै संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी, गाउँ प्रहरी र एम्बूलेन्स चालकको सहजता र प्रोत्साहनमा खाना र खाजा निःशुल्क गरेको हो ।
आइसोलेसनमा आइपुगेका संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षामा खटिएका गाउँ प्रहरी र संक्रमित बोक्ने एम्बूलेन्स चालकलाई जुनसुकै होटलमा खाना र खाजा नदिने भएकाले गाउँपालिकाकातर्फबाट उनीहरुका लागि निःशुल्क खाना र खाजाको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।
संक्रमितको उपचारका लागि गाउँपालिकाले प्राथमिक स्वास्य केन्द्र ऐसेलुखर्कमा आइसोलेसन सेन्टर बनाएको छ । सो आइसोलेसन सेन्टरमा बसेका ५ जनामध्ये २ जना संक्रमित शनिबार डिस्चार्ज भएका छन् ।
संक्रमितलाई आइसोलेसन सेन्टरमा पु¥याउन र डिस्चार्ज भएपछि घरसम्म पु¥याउन पनि निःशुल्क यातायातको व्यवस्था मिलाइएको प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्ककी सिनियर अहेव निर्मला शर्माले जानकारी दिईन् । संक्रमितलाई ओसारपसार गर्न एम्बूलेन्स प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।