पर्सा । कोरोना भाइरस संक्रमणबाट वीरगञ्ज महानगरपालिकामा आठ घण्टाको अवधिमा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुईजना पुरुष रहेका छन्।
मृतकमध्ये दुईजना वीरगञ्ज–१२ मुर्ली र एक जना वडा नम्बर २५ मनियारीका रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए।
चौरायिसका अनुसार शुक्रबार साँझ साढे ५ बजे वडा नम्बर १२ मुर्लीकी ६५ बर्षीया महिलाको मृत्यु भएको हो भने राति सोही ठाउँका ४३ वर्षीय पुरुषको ११ बजेर ५५ मिनेटमा र त्यसको केही समयपछि वडा नम्बर २५ का ३७ वर्षीय अर्का पुरुषको मृत्यु भएको डा. चौरसियाले जानकारी दिए।
मृतकहरुमध्ये महिलालाई श्वास प्रश्वासमा केही समस्या भएपछि शुक्रबार दिउँसो नारायणी अस्पतालमा उपचारका लागि ल्याइएको थियो। हाइपरटेन्सनको दीर्घरोगी ती महिलाको उपचारका क्रममा नारायणी अस्पतालमा नै मृत्यु भएको हो। उनको राति अबेर मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
४३ वर्षीय पुरुषमा हेपाटाइटिस बी र एचआइभी रोग पहिलेदेखि नै रहेको खुलेको छ। उनलाई नेसनल मेडिकल कलेजमा उपचारका क्रममा संक्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयर रिफर गरिएको थियो। उनको त्यही मृत्यु भएको डा. चौररियाले बताए।
मनियारीका पुरुषमा भने क्रिटिकल कोभिड संक्रमण रहेको र उनलाई संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा पठाएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ लाँदै गर्दा मुग्लिङ पुग्दा बाटोमा नै मृत्यु भएको बताइएको छ। पर्सामा मात्र कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३६ पुगेको छ।