खोटाङ । खोटाङको साकेला गाउँपालिकामा गरिएको सिल अवधि थप ७ दिनका लागि लम्व्याइएको छ । कोभिड–१९ को संक्रमण दर बढिरहेको भन्दै गाउँपालिकाले आइतबारदेखि लागू हुनेगरी थप हप्ता दिनका लागि सिल अवधि थप गरेको हो । कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउने अभियानका क्रममा गाउँपालिकाले आवत–जावत गर्न नपाउनेगरी गाउँपालिकालाई पूर्णरुपमा सिल गरिएको जनाएको छ ।
सिल गरिएको अवधिमा पालिकाभित्र कुनै भिडभाड, भोजभतेर, समिक्षा, गोष्ठी, तालिम लगायतका जमघट हुने कार्यक्रम नगर्न/नगराउन आग्रह गरेको छ । यस्तै, गाउँपालिकाको आन्तरिक प्रशासनिक कामकाज र अत्यावश्यक सेवा बाहेकका अन्य सेवा प्रवाह बन्द गरिइको गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले जारी गरेको सूचनामा उल्लेख छ ।
उपभोग्य वस्तुको किनमेलका लागि बजार क्षेत्रभित्रको खाद्यान्न पसल भने प्रत्येक बिहान ७ बजेदेखि ८ बजेसम्म खोल्ने/खुलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । कोभिड संकट व्यवस्थापन समितिको गत बैसाख २५ गतेको बैठकले हप्ता दिनका लागि पहिलोपल्ट गाउँपालिका सिल गर्ने निर्णय गरेको थियो । त्यो बेला गाउँपालिकाले संक्रमित क्षेत्रबाट आउने पालिकावासीले सम्वन्धित वडा कार्यालयमा पिसिआर रिपोर्ट पेश गर्नुपर्ने र कम्तीमा १० दिनसम्म होमआइसोलेसनमा बस्नुपर्ने, गाउँपालिकाभित्र निर्माणाधिन योजना र आयोजनाका लागि आवश्यक कामदार पालिकाभन्दा बाहिरबाट नल्याउने, बाहिरबाट ल्याउन परे पिसिआर परिक्षण गरेर मात्र कामदार भित्र्याउन पाउने व्यवस्था गरेको थियो । यस्तै, बढिमा १० जनाको उपस्थितिमा मात्र बिवाह, ब्रतबन्ध, पास्नी, देवाली जस्ता धार्मिक तथा साँस्कृतिक कार्यक्रम गर्ने/गराउने, त्यस्ता कार्यक्रममा गाउँपालिकाभन्दा बाहिरका आफन्तलाई नबोलाउने, बोलाउनै परे पिसिआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट लिएर मात्र आउनका लागि निमन्त्रणा गर्ने/गराउने निर्णय गरेको थियो ।