खोटाङ । स्वास्थ्यमा समस्या देखिएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकामा सुत्केरी आमा र नवजात शिशुलाई हेलीकोप्टरबाट उद्धार गरेर अस्पताल लगिएको छ ।
सुत्केरी भए लगत्तै स्वास्थ्यमा जटिल समस्या देखिएपछि जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका २७ वर्षीय शिवकुमारी सापकोटा (रोईला) र उनकी नवजात शिशुलाई सोमबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलीकोप्टरमार्फत बिराटनगर लगिएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा सोमबार नर्मल तरिकाले बच्चा जन्माएकी सापकोटाको रक्तश्राव नरोकिएको तथा नवजात शिशुको स्वास्थ्यमा जटिल समस्या देखिएपछि हेलीकोप्टरबाट उद्धार गरेर बिराट शिक्षण अस्पताल बिराटनगर पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए । सुत्केरी र बच्चालाई नेपाली सेनाको पूूर्वी पृतना ईटहरीबाट ल्याइएको हेलीकोप्टरमार्फत अस्पताल पुर्याइएको हो ।
आमाको रक्तश्राव नरोकिएको तथा जटिल अवस्थाका नवजात शिशुलाई राख्ने एनआइसियूको अभावमा अन्यत्र रेफर गर्नुपरेको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीले जनाएको छ ।
सुत्केरी महिला र नवजात शिशुको उद्धारका लागि जन्तेढुंगा गाउँपालिकाबाट आएको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय खोटाङले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईमार्फत सेनाको हेलीकोप्टर झिकाएको हो ।
गाउँपालिकाको आग्रहमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगतको हवाइ सेवाबाट खर्च बेहोर्ने गरी हेलिकोप्टरको व्यवस्थाका लागि सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले मन्त्रालयमा पत्राचार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।