खोटाङ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले खोटाङमा पालिका स्तरीय पिपुल्स भोलेन्टियर्स गठन गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले सोमबार केपिलासगढी गाउँपालिकामा इन्जु राईको संयोजकत्वमा ४५ सदस्यीय पिपुल्स भोलेन्टियर्स गठन गरेको हो ।
पिपुल्स भोलेन्टियर्सको पालिका स्तरीय कमिटिको सह–संयोजकमा नैनराज राई चयन भएका छन् । ‘महिनामा दुई दिन, दिनको दुई घण्टा मेरो राष्ट्रको लागि’ भन्ने नारा सहित पिपुल्स भोलेन्टियर्स गठन गरिएको नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ ।

नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव जलसेर राईको प्रमुख आतिथ्यता, नेकपा (एकीकृत समाजवादी)का सचिवालय सदस्य एवं युवा तथा खेलकुद विभाग प्रमुख माइतीराज राईको विशेष आतिथ्यता र युवा संघका जिल्ला कमिटि अध्यक्ष पवन श्रेष्ठको आतिथ्यतामा पिपुल्स भोलेन्टियर्स गठन गरिएको हो ।
नेकपा (एकीकृत समाजवादी) निकट युवा संघको मातहत रहनेगरी पिपुल्स भोलेन्टियर्स गठन गरिएको जनाइएको छ । नवगठित पिपुल्स भोलेन्टियर्सले ‘महिनामा दुई दिन, दिनको दुई घण्टा मेरो राष्ट्रको लागि’ भन्ने नारा अन्तरगत बाक्सिला बजार सरसफाई गरेको छ ।
यस्तै, अभिषेक राईको अध्यक्षतामा ६३ सदस्यीय नेकपा (एकीकृत समाजवादी) निकट युवा संघको पालिका स्तरीय कमिटि गठन गरिएको छ । युवा संघको उपाध्यक्षमा तुफान राई चयन भएका छन् । क्रमशः अन्य पालिकामा संगठन बिस्तार गर्दै लगिने नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।
केपिलासगढी गाउँपालिका प्रदेशसभा सांसद राजन राईको गृहपालिका हो । प्रदेशसभा सांसद माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन् ।
प्रदेशसभा सांसद नेकपा (एकीकृत समाजवादी)मा खुले लगत्तै उनलाई काउण्टर दिनका लागि नेकपा एमालेले भदौ ४ गते केपिलासगढी गाउँपालिका–१ फेदीको शुक्रबारेमा पार्टी प्रवेश कार्यक्रम राखेको थियो ।
सो कार्यक्रमबाट नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा परित्याग गरी १६८ नेता तथा कार्यकर्ता प्रवेश गरेको एमालेको भनाई छ ।
एमालेको त्यही कार्यक्रमको काउण्टरमा नेकपा (एकीकृत समाजवादी) ले बाक्सिलामा युवाको भेला गरेर युवा संघ र पिपुल्स भोलेन्टियर्स विस्तार गरेको बुझिएको छ । अव अन्य पालिकामा पनि क्रमशः एमाले र नेकपा (एकीकृत समाजवादी) बीच एकका विरुद्ध अर्कोको गतिविधि हुने देखिएको छ ।