खोटाङ । नेकपा एमाले खोटाङले फुटबाट पार्टीलाई पुग्ने क्षतीलाई सकेसम्म न्यूनीकरणको पहल गर्ने संकल्प गरेको छ । एमालेबाट अलग्गिएका माधव नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी बनाएको अवस्थामा एमाले जिल्ला कमिटिको भदौ १९ र २० गते समिक्षालय हलमा सम्पन्न ११ औं पूर्ण बैठकले फुटबाट पार्टीलाई पुग्ने क्षतीलाई सकेसम्म न्यूनीकरणका लागि पहल गर्ने संकल्प गरेको जनाएको छ ।
एमाले जिल्ला कमिटिले सोमबार बिहान जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष रामप्रसाद दंगालले मुलुकको बलियो शक्तिको रुपमा रहेको एमालेलाई फुटाउने षडयन्त्र गरेर देशलाई प्रतिक्रियावादी शक्तिको पाउमा सुम्पने धृष्टता विरुद्ध डटेर सामना गर्ने बताएका छन् ।
‘मुलुकको बलियो शक्तिको रुपमा रहेको नेकपा एमालेलाई प्रतिक्रियावादी शक्तिहरुले सिर्जना गरेको अध्यादेशको जगमा उभिएर विभाजन गर्ने र नेपालको वामपन्थी, प्रगतिशील र राष्ट्रवादी शक्तिलाई कमजोर पार्ने दुरासय बोकेर माधव नेपाल लगायतका केही नेताहरुले हर्कत गरेको जगजाहेर नै छ,’ अध्यक्ष दंगालले भने, ‘बलियो जनपक्षीय शक्तिलाई फुटाउने षडयन्त्र गरेर देशलाई प्रतिक्रियावादी शक्तिको पाउमा सुम्पने धृष्टता विरुद्ध डटेर सामना गर्ने र पार्टीलाई पु¥याउने क्षतीलाई सकेसम्म न्यूनीकरण गर्ने संकल्प बैठकबाट गरेका छौँ ।’

एमालेले सूर्य चिन्हबाट निर्वाचित भएका जिल्लाका जनप्रतिनिधिलाई टुटफुट र विभाजनको पक्षमा नलाग्न आव्हान गरेको छ । निर्वाचन आयोगले बदनियत राखेर एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई सनाखत गराई नेकपा (एकीकृत समाजवादी)मा समावेस गराउने समयसीमा दिएको अवस्थामा एमालेले सूर्य चिन्हबाट निर्वाचित भएका जनप्रतिनिधिलाई टुटफुट र विभाजनको पक्षमा नलाग्न आव्हान आव्हान गरेको हो । बैठकले पार्टी केन्द्रीय कमिटि र स्थायी कमिटिको निर्णय अनुसार पार्टीको सम्पूर्ण संरचना २०७५ साल जेठ २ मा फर्काउने निर्णय गरेको एमालेले जनाएको छ ।
एमाले पदाधिकारीमा जिम्मेवारी हेरफेर
नेकपा एमाले जिल्ला कमिटिको २०७२ साल बैशाख १० गतेदेखि १४ गतेसम्म भएको छैठौं अधिबेसनबाट निर्वाचित अध्यक्ष ववि चाम्लिङ नवगठित नेकपा (एकीकृत समाजवादी) मा लागेपछि बैठकले एमालेको अध्यक्षमा रामप्रसाद दंगाललाई मनोनयन गरेको छ ।
जिल्ला अधिबेसनबाट उपाध्यक्ष चुनिएका दंगाल अध्यक्ष भएपछि सचिव देवबिक्रम राई उपाध्यक्ष र उपसचिव कुमार आचार्य सचिवको जिम्मेवारी दिइएको एमालेले जनाएको छ । उपसचिव पद भने रिक्त राखिएको छ ।
बैठकले संगठन निर्माणका लागि जिल्लामा अभियान चकलाउने, हप्ता दिनभित्र साविकको टोल कमिटि गठन गर्ने, आगामी कात्तिक ६ गतेभित्र वडा अधिबेसन सक्ने, कात्तिक ९ गतेभित्र नगर तथा गाउँपालिका अधिबेसन सक्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
एमालेले संगठनलाई व्यवस्थित गर्नका लागि अध्यक्ष दंगालको संयोजकत्वमा ७ सदस्यीय, पार्टी सदस्य व्यवस्थापनका लागि सचिव आचार्यको संयोजकत्वमा ३ सदस्यीय र जनवर्गीय संगठन व्यवस्थापनका लागि युवा संघका नेता दिलचक्र राईको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको जनाएको छ ।
एमालेले कोभिड–१९ को महामारीबाट संक्रमित बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण नागरिकलाई पारदर्शी मापदण्ड अपनाएर शिघ्र र व्यवस्थित रुपमा खोप उपलव्ध गराउन सरकारसँग माग माग गरेको छ । एमालेको ११ औं पूर्ण बैठकले कोभिड–१९ को संक्रमण एवं अन्य कारणबाट ज्यान गुमाएका आफ्नो नेता तथा कार्यकर्ता, शुभेच्छुकको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।