नेपाली कांग्रेसका युवा नेता प्रकाशकुमार श्रेष्ठले नेपाली कांग्रेसको आसन्न नगर अधिबेसनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । कांग्रेसको महाधिबेसन अन्तरगत वडादेखि पालिका, क्षेत्र, जिल्ला हुँदै केन्द्रीय अधिबेसनको सारगर्मी वढिरहेका बेला युवा नेता श्रेष्ठले बुधबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै भदौ २७ गते हुन गइरहेको नगर अधिबेसनमा कांग्रेसको नगरसभापतिमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
उनले कांग्रेसका जिल्ला सभापति नरेश श्रेष्ठ, क्षेत्र नम्बर २ का सभापति तीर्थराज भट्टराई लगायतको उपस्थितिमा नगरसभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । हाल कांग्रेसका जिल्ला सदस्य तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडा सदस्य रहेका श्रेष्ठले सामान्यतः माथिल्लो पदमा जानु पर्ने भएपनि पार्टीको फेदलाई बलियो बनाउने लक्ष्यका साथ नगरसभापतिमा उम्मेद्वारी दिने तयारी गरेको बताए ।
‘अहिलेको हैसियत अनुसार मैले माथिल्लो पदमा दावी गर्नु पर्ने हो । तर, नगरसभापतिमा उठ्ने निर्णय गरेको छु,’ श्रेष्ठले भने, ‘अव पार्टीको टुप्पोलाई राम्रो बनाउन खोजेर हुँदैन । फेद राम्रो बनाउनु पर्छ । म पार्टीको फेद द¥हो बनाउने भिजनकासाथ अघि बढेको छु ।’
उम्मेद्वार श्रेष्ठले नगरसभापतिमा चुनिएको अवस्थामा नगरपालिकाको अनियमितता र योजना फरफराकका विषयमा खबरदारी गर्ने, प्रतिपक्षीले निभाउनुपर्ने भूमिकाका विषयमा वडाध्यक्षहरुसँग छलफल गर्ने योजना बनाएको बताए ।
उनले आफ्नो पार्टी तथा अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेको राम्रो कामलाई समर्थन गर्दै खराव काममा विरोध गर्ने जनाए । ‘आफ्नो पार्टीका होस् या अन्य पार्टीको । राम्रो काम गर्नेलाई समर्थन गर्ने हो, गलत काम गर्नेको विरोध गर्ने हो,’ श्रेष्ठले भने, ‘म राजनीतिको पिएचडी गर्ने परीक्षामा सामेल भएको छु । कांग्रेसको वडा समितिलाई सहकारीको सिस्टममा चलाउने योजना छ ।’
श्रेष्ठको टिमबाट उपसभापतिमा लक्ष्मण आचार्य र अर्जुनदेव राई, सचिवमा गिरीराज राई र युवक राई, सह–सचिवमा अञ्चल राई र सन्तोष खत्रीले उम्मेद्वारी दिने बताएका छन् ।
२०४७ सालमा दिक्तेलको सरस्वती माविवाट नेविसंघको तदर्थ इकाई उपसभापति बनेर राजनीतिमा प्रवेश गरेका श्रेष्ठ २०४९ सालमा नेविसंघको जिल्ला सदस्य, २०६७ सालमा कांग्रेसको जिल्ला सदस्य बनेका थिए । कांग्रेस नगरसभापतिका अर्का आकांक्षी घिमिरेले श्रेष्ठलाई समर्थन गरेपछि अव तीन जना आकांक्षी मैदानमा देखिएका छन् ।
यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष रामचन्द्र राईले भदौ १३ गते नगरसभापतिमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । नेता राजन सैंजू नगरसभापतिका अर्का आकांक्षी हुन् । सकेसम्म सहमतीमा नगरसभापति टुंग्याउन पहल गरिने श्रेष्ठले बताए ।