प्रदेश नम्बर १ की पूर्व सामाजिक विकास मन्त्री उषाकला राईले कोदोको लोकल रक्सीको औधोगिकरणले आर्थिक समृद्धिको मुल ढोका खुल्ने बताएकी छन् । प्रेस चौतारी नेपाल खोटाङले बुधबार दिक्तेलमा आयोजना गरेका पत्रकार सम्मेलनमा पूर्व मन्त्री राईले नेपाली पहिचान र राष्ट्रियता बोकेको कोदोको लोकल रक्सीलाई औधोगीकरण गर्न सके आर्थिक संमृद्धिको मुल ढोका खुल्ने बताएकी हुन् ।
‘हाम्रो देशमा कोदोको लोकल रक्सी, गाँजा, रक्तचन्दन जस्ता ब्राण्डिङ गर्नुपर्ने चीज धेरै छन् । त्यसमध्ये लोकल रक्सीबाट ब्राण्डिङ सुरु गर्ने प्रयास सुरु भएको छ,’ पूर्व मन्त्री राईले भनिन्, ‘कोदोको रक्सीलाई ‘व्यान्ड होइन ब्राण्ड’ बनाउनुपर्ने अभियान वहुआयमिक छ । यसका कारण कृषि र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्छ । विदेसिएका युवालाई गाउँमै फर्काउन सकिन्छ । यसलाई जुनसुकै सरकारले पनि निरन्तरता दिन आवश्यक छ ।’
घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘व्यान्ड होइन ब्राण्ड’ बनाउनुपर्ने अभियान थालेकी पूर्व मन्त्री राईले लोकल रक्सीका लागि पर्याप्त कोदो आवश्यक पर्ने भएकाले कोदोको खेतीले व्यापकता पाउने दावी गरिन् । ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणाले हरेक रक्सी उत्पादक स्थानीयलाई आर्थिक रुपमा स्वरोजगार बनाउने तथा हाल बाँझिएका, नांगो भएका डाँडाकाँडालाई कोदोको खेतीले ढाक्ने पूर्व मन्त्री राईको भनाई थियो ।
‘व्याण्ड भर्सेस ब्राण्ड’ अभियानको सफलताका लागि ७० पृष्ठको सम्भाव्यता अध्ययन तथा सुझाव प्रतिबेदन तयार पारिसकिएको तथा आवश्यक कानून निर्माणका लागि चालु आर्थिक वर्ष एक करोड बजेट विनियोजन भइसकेको राईले जानकारी दिएकी छन् ।
‘कोदोको लोकल रक्सीमाथिको प्रतिवन्ध फुकुवा गर्दै उत्पादन, ब्राण्डिङ तथा बजारीकरण गर्ने वातावरण बनेलगत्तै विभिन्न जिल्लामा कोदोको पकेट क्षेत्रको विकास हुन्छ । बाँझिएको, झारपात उम्रेका जग्गामा दोकोको खेती सुरु हुने छन् । डाँडाकाँडा हरियो कोदो वालीले ढाक्ने छन् ।
त्यो हरियालीले पर्यटक आकर्षण गर्ने छन्,’ पूर्व मन्त्री राईले भनिन्, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीमा आकर्षण गर्न सकिन्छ । विदेसीभूमिमा श्रम बेच्न वाध्य युवालाई स्वदेशमै फर्काउन सकिन्छ भन्ने अवधारणा छ ।’ राईले १५६ दिन मन्त्रीका रुपमा गरेका काम र उपलव्धीका बारेमा पनि जानकारी दिएकी छन् ।
पूर्व मन्त्री राईले वर्षदिन अघिदेखि लोकल रक्सीमाथिको व्याण्ड (प्रतिवन्ध) फुकुवा गरेर ब्राण्ड बनाउनुपर्ने अवधारणा अघि सारेकी हुन् । गत वर्ष प्रशासनको अगुवाईमा दिक्तेलमा लोकल रक्सी नष्ट गर्दा समेत राईले विरोध जनाएकी थिईन् ।
२०७७ साल असार १५ गते संसदको विनियोजन विधेयकमाथिको छलफलकाक्रममा लोकल रक्सीलाई व्यवसायीकरण र औधोगिकरण गर्न सके सिंगो देशको आर्थिक संमृद्धिमा टेवा पुग्ने भन्दै राईले ‘व्याण्ड भर्सेज ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेकी थिईन् । लोकल रक्सीलाई व्याण्ड (प्रतिवन्ध) गर्ने हो भने विदेशी रक्सीलाई पनि व्याण्ड गर्नुपर्ने पूर्व मन्त्री राईको भनाई छ ।