खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसको नगरसभापति पदमा युवा नेता रमेश राउतले उम्मेद्वारी दिने घोषणा गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका वडाध्यक्ष रहेका राउतले कांग्रेसको १४ औं महाधिबेसन एवं नगरपालिकाको दोश्रो अधिबेसन अन्तरगत आगामी असोज ९ गतेका लागि तोकिएको अधिबेसनमा नगरसभापतिमा उठ्ने घोषणा गरेका हुन् ।
कांग्रेस क्षेत्र नम्बर १ का सदस्य एवं हलेसी तुवाचुङ नगरपालिकाको प्रवक्ता रहेका राउतले आफ्नो प्यानल नै तयार गरेर शनिबार उम्मेद्वारी घोषणा गरेका हुन् ।
२०६२ सालमा पाटन संयुक्त क्याम्पसको ईकाई समिति सदस्य बनेर २०६२/०६३ को जनआन्दोलमा सहभागी हुँदै विद्यार्थी राजनीति सुरु गरेका राउत सोही ईकाई समितिको सह–सचिव हुँदै सचिव बनेका थिए । युवामाझ प्रखर वक्ताका रुपमा चिनिने राउत अधिवक्ता समेत हुन् ।
काठ्माण्डौं बसेर विद्यार्थी राजनीतिमा संलग्न राउत स्थानीय तहको निर्वाचनमा गाउँ फर्किएका हुन् । उनलाई पूर्व राज्यमन्त्री सर्वधन राई, हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख विमला राई, नेविसंघका पूर्व केन्द्रिय सदस्य दुरेन राई, पेशल राई लगायतको समर्थन छ ।
राउतको प्यानलबाट डिकुवाका दिनेश राई र राजापानीका धनकुमार खड्का नगरपालिकाको उप–सभापतिमा लड्ने तयारी गरेका छन् । यस्तै, सचिवमा अर्खौलेका केशव श्रेष्ठ र दुर्छिमका फडिन्द्र राई, सह–सचिवमा धितुङका लम्बर राई र जुना राईले उम्मेद्वारी दिने निश्चित गरिएको छ ।

११ वडा रहेको नगरपालिका सभापतिमा राउत र चक्रकुमार राईबिचमा प्रतिष्पर्धा हुने भएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका राईले भदौ २४ गते नगरसभापतिमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । राईको प्यानललाई कांग्रेस क्षेत्रीय सभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, महासमिति सदस्य दिनेश राई, महाधिबेसन प्रतिनिधि जितेन्द्रसिं ठकुरी लगायतको समर्थन छ ।