खबर खोटाङ । खोटाङमा प्रेस संगठन नेपालको शाखा कार्यालय स्थापना गरिएको छ। जिल्लाको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेलवजारमा कार्यालयको स्थापना गरिएको हो।
स्थानीय हेलिप्याड नजिक स्थापना गरिएको कार्यालयको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ का प्रदेशसभा सदस्य रामकुमार राईले सोमबार उद्घाटन गरेका हुन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राईले पत्रकारहरुले मानव अधिकार, विकास निर्माण र भ्रष्टाचारको खबरदारी गर्नुपर्ने बताए। सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नुहोला। राईले भने ‘विशेषगरी दुर्गम ठाउँको समाचार बाहिर ल्याउन पत्रकारहरुलाई आग्रह गर्दछु।’
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राईले पत्रकारलाई पार्टीको लोगो नबन्न र व्यक्ति पछ्याउने प्रवत्ति त्याग्न अनुरोध गरे। अहिलेको अवस्थामा मुलधारका संञ्चारमाध्यम समेत बाहिरी ईशाराबाट चल्ने गरेको र त्यो दुःखद पक्ष भएको उनले बताए ।
कार्यालय उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष पृथ्वी किराती, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य भीम राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।