• ट्रेण्डिङ:

खोटाङमा जनता समाजवादीको ‘सुज’ अभियान सुरु 

खोटाङमा जनता समाजवादीको ‘सुज’ अभियान सुरु 

रोदिक खबर

१४, आश्विन २०७८
  • 7.5K
    SHARES
  • खोटाङमा जनता समाजवादीको ‘सुज’ अभियान सुरु 

    खोटाङ । जनता समाजवादी खोटाङले सुज (संगठन सुदृढिकरण तथा जनजागरण) अभियान सुरु गरेको छ । संगठन विस्तारका माध्यमबाट पार्टीलाई थप सशक्त र बलियो बनाउँदै वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने केन्द्रिय नीति अनुसार जनता समाजवादीले जिल्लामा ‘सुज’ अभियान सुरु गरेको हो ।

    बिहिबार दिक्तेलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जनता समाजवादी खोटाङका अध्यक्ष टंक थापाले मातहतका समिति गठन/पुःर्नगठन, सदस्यता विस्तार, नवीकरण, प्रशिक्षण सञ्चालन, भेला तथा सभा, जनजागरण लगायतका कार्यक्रम सञ्चालनका लागि ‘सुज’ अभियान थालिएको जानकारी दिए । ‘सुज’ अभियान मंसिर मसान्तसम्म जारी रहने जनता समाजवादी पार्टीले जनाएको छ । 

    जिल्लामा ‘सुज’ अभियानका लागि केन्द्रीय कार्यकारीणि सदस्य पर्शुराम बस्नेतको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । जिल्ला अध्यक्ष सचिव रहेको ‘सुज’ अभियान मूल समितिमा केन्द्रीय सदस्य, केन्द्रीय निकायका सदस्य, संघीय परिषद सदस्य, प्रदेश समिति सदस्य, जनसंगठनका केन्द्रिय सदस्य, किरात राष्ट्रिय समितिका पदाधिकारी सदस्य राखिएका छन् ।

    यस्तै, केन्द्रीय सदस्य सुर्य राईको संयोजकत्वमा ‘सुज’ अभियान प्रदेश निर्वाचन क्षेत्र (क) र केन्द्रीय सदस्य सनबहादुर राईको संयोजकत्वमा ‘सुज’ अभियान प्रदेश निर्वाचन क्षेत्र (ख) गठन गरिएको अध्यक्ष थापाले जानकारी दिए । 

    जसपाले ऐसेलुखर्क गाउँपालिकाका लागि मणि राई, केपिलासगढी गाउँपालिकाका लागि राकेश राई, रावाबेँसी गाउँपालिकाका लागि मोहन गुरुङ, हलेसी तुवाचुङ नगरपालिकाका लागि सिताराम राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि बीरबहादुर राईको संयोजकत्वमा ‘सुज’ अभियान पालिका समिति बनाएको छ ।

    यस्तै, साकेला गाउँपालिकाका लागि देवकुमार राई, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका लागि टिकाराम राई, खोटेहाङ गाउँपालिकाका लागि देवेन्द्र श्रेष्ठ, जन्तेढुंगा गाउँपालिकाका लागि प्रेम राई र बराहपोखरी गाउँपालिकाका लागि टंक थापालाई ‘सुज’ अभियान पालिका समिति संयोजकको जिम्मेवारी दिइएको जानकारी दिइएको छ । 

    बरिष्ठ नेता अशोक राईको उपस्थितिमा असोज १७ गतेदेखि २० गतेसम्म केपिलासगढी गाउँपालिकामा र असोज २१ र २२ गते हलेसी तुवाचुङ नगरपालिकामा ‘सुज’ अभियान सञ्चालनको तयारी गरिएको जसपाले जनाएको छ ।

    पत्रकार सम्मेलनमा जसपाका केन्द्रिय सदस्य तथा किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, केन्द्रीय सदस्य सुर्यबहादुर राई लगायतको उपस्थिति रहेको थियो । 

    प्रकाशित मिति :आश्विन १४, २०७८ बिहिवार - २२:३१:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको