खोटाङ । खोटाङका ५० भन्दा बढि वडामा नेकपा एमालेको वडा अधिबेसन टुंगिएको छ । दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ५० भन्दा बढि वडामा सर्वसहमतीमा नेतृत्व टुंगिएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।
साकेला गाउँपालिका–५ मात्तिम र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माको वडा अधिबेसन आइतबारसम्मका लागि स्थगित गरिएको छ । उद्घाटन लगत्तै समय अभावका कारण भन्दै बन्दसत्र एक दिनपछि सारिएको अध्यक्ष दंगालले बताए । यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडा अधिबेसन भने स्थगित भएको छ ।
‘प्राविधिक कारणवस’ दुई सछितापोखरी र दोर्पाचिउरीडाँडाको अधिबेसन आइतबार वा सोमबार हुने अध्यक्ष दंगालले बताए । बाँकी वडाको अधिबेसन भने शनिबार राती अबेरसम्ममा सकिने एमालेले जनाएको छ ।
आसन्न १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत एमालेको वडा अधिबेसनबाट २ हजार ४४९ जना वडा स्तरिय नेता तथा कार्यकर्ताले वडा कमिटिमा नयाँ जिम्मेवारी पाउँदैछन् । प्रति वडा ३१ सदस्यीय वडा कमिटिमा वडा स्तरिय नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाउन लागेका हुन् ।
वडा अधिबेसनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप–सचिव सहित सदस्य चयन गर्ने छन् । आगामी ९ कात्तिकमा पालिका अधिवेशन हुने एमालेले जनाएको छ । एमालेको १० औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ ।