खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेकपा एमालेको नगर कमिटि अध्यक्षमा गोपालचन्द्र आचार्य चयन भएका छन् । १५ वडा रहेको नगरपालिकामा मंगलबार सम्पन्न नगर अधिबेसनबाट ३३ वर्षीय आचार्य एमालेको नगर कमिटि अध्यक्षमा सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।
७५ सदस्यीय नगर कमिटिको उपाध्यक्षमा मनिचन्द्र राई, सचिबमा चित्रकुमार राई, उप–सचिवमा लिला चौहान र बनोद खड्का चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष आचार्य स्थानीय तह कार्यान्वयन पछिको पहिलो नगर अधिबेसनबाट पनि अध्यक्ष बनेका थिए ।
२०५६ सालमा पञ्च माबि दिक्तेलमा अखिल क्रान्तिकारीको सदस्य बनेर राजनीति थालेका आचार्य २०६७ सालमा एमाले प्रवेश गरेका हुन् । उनले युवा संघको जिल्ला सचिव, तत्कालिन दिक्तेल गाबिसको एमाले अध्यक्ष लगायतका भूमीका निर्वाह गरिसकेका छन् । पार्टीको अनुसार संगठनलाई मजवुद बनाउने र सबै वडामा पार्टीलाई पहिलो बनाउने नवनिर्वाचित अध्यक्ष आचार्यले बताए ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकाको एमाले पालिका कमिटि अध्यक्षमा टेकेन्द्र राजभण्डारी चुनिएका छन् । पालिका कमिटिको उपाध्यक्षमा अरुण राई, सचिवमा माधव राई, उप–सचिवमा सविन राई र बालकुमार राई चयन भएका छन् ।
२०५२ सालमा अनेरास्ववियुको त्रिभुवन माबि ऐसेलुखर्कको सचिवबाट राजनीति थालेका राजभण्डारी २०६८ सालमा ऐसेलुखर्क गाउँ कमिटि अध्यक्ष, ईलाका कमिटि सचिव हुँदै नेकपा हुँदा पालिका कमिटिको कार्यालय सचिव बनेका थिए ।
काठ्माण्डौं बसिरहेका बेला २०६२/०६२ सालको जनआन्दोलनमा सशक्त सहभागीता जनाएका राजभण्डारीले संगठनलाई चुस्त दुरुस्त बनाउँदै आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउने प्रतिक्रिया दिए ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका अन्य पालिका अधिबेसनको बन्दसत्र जारी रहेको एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगालले बताए ।
पालिका अधिबेसनले जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाउने छन् । एमालेको पालिका अधिबेसनबाट पदाधिकारी सहित ७५ सदस्यीय पालिका कमिटि गठन हुने व्यवस्था छ ।