खोटाङ । मुलुक गणतन्त्र र संघीयतामा गइसकेको छ । तर, गणतन्त्र र संघीयता विरुद्धका नारा घन्किन छाडेका छैनन् । शनिबार खोटाङको दिक्तेलबजारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश क्षेत्र क, ख तथा जिल्ला अधिबेसन उद्घाटन पूर्व गणतन्त्र र संघीयता विरुद्ध नारा लगाउँदै र्याली निकालेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताले दिक्तेलबजारमा ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइदैन, संघीयता खारेज गरौं, एमसिसि खारेज गरौं’ लगायतका ६ वटा चर्का नारा घन्काएका हुन् ।
गणतन्त्र र संघीयता ‘जिन्दावाद’ भन्दै नारा घन्किने बजारमा त्यस विरुद्धका नारा लाग्दा कतिपयले भने अनौठो मानेर र्याली नियालिरहेका देखिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले विगतको तुलनामा उल्लेख्य भीड उतारेको देखिएको छ ।
प्रदेश क्षेत्र क, ख तथा जिल्ला अधिबेसन राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्देशन समितिका सदस्य एवं पूर्वसभाषद अर्जुन राईले उद्घाटन गरेका थिए । दिक्तेलको हेलीप्याडमा उद्घाटन भएको अधिबेसनको बन्दसत्र जिल्ला समन्वय समितिको समिक्षालय हलमा सुरु भएको छ । सर्वसहमतीमा प्रदेश क्षेत्र क, ख तथा जिल्लाको नेतृत्व चयन गरिने राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ ।
अधिबेसन उद्घाटन कार्यक्रमलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवं पर्यबेक्षक डम्बर सिवाकोटी, केन्द्रिय सम्पादन समितिका सदस्य रबिन राई, केन्द्रिय सम्पादन समितिका सदस्य एवं युवा संगठनका केन्द्रिय अध्यक्ष प्रकाश रिमाल, केन्द्रिय सम्पादन समितिका सदस्य बिजयकला राई लगायतले सम्बोधन गरेका थिए । उनीहरुले विभिन्न पार्टी परित्याग गरेर राप्रपा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई स्वागत गरेका छन् ।