• ट्रेण्डिङ:

वर्षाका कारण जनधनको क्षती बेहोरेका नागरिकलाई राहत देऊ : एमाले 

वर्षाका कारण जनधनको क्षती बेहोरेका नागरिकलाई राहत देऊ : एमाले 

रोदिक खबर

१४, कार्तिक २०७८
  • 3.2K
    SHARES
  • वर्षाका कारण जनधनको क्षती बेहोरेका नागरिकलाई राहत देऊ : एमाले 

    खोटाङ । नेकपा एमाले खोटाङले केही समयअघि परेको बेमौसमी वर्षाका कारण जनधनको क्षती बेहोरेका नागरिकलाई राहत प्रदान गर्न सरकार समक्ष माग गरेको छ । १२ कात्तिकमा सम्पन्न एमाले जिल्ला कमिटिको ७ औं सचिवालय बैठकले बेमौसमी वर्षा तथा बाढीपहिरोका कारण ज्यान गुमाएका नागरिकका परिवारलाई राहत उपलव्ध गराउन सरकार समक्ष माग गर्ने निर्णय गरेको हो । 

    एमालेले पाक्न लागेको धान लगायतका वालीनालीमा क्षती पुग्दा खाद्यान्न अभावको चिन्तामा परेका किसानलाई पनि उचित राहतको व्यवस्थाका लागि माग गर्ने निर्णय गरेको जनाएको छ । बैठकको निर्णय सार्वजनिक गर्न आइतबार दिक्तेलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमालेका जिल्ला सचिव कुमार आचार्यले खोटाङमा वर्षाका कारण भएको क्षतीको लगत संकलनका लागि सहयोग गर्न मातहतका कमिटिलाई आग्रह गरिएको जानकारी दिए ।

    “बेमौसमी वर्षाका कारण बाढी पहिरो जाँदा सयौं नागरिकले ज्यान गुमाएका छन् । उत्तिकै मात्रामा वालीनाली नष्ट भएको छ । आफन्त गुमाएका र वालीनाली विनास भएका किसानलाई राहत दिनका लागि सरकार समक्ष माग गर्ने निर्णय गरेका छौँ,” सचिव आचार्यले भने, “जिल्लाको हकमा क्षतीको लगत संकलनका लागि सहयोग गर्न कार्यकर्तालाई निर्देशन दिएका छौँ । जिल्लालाई किसानलाई पनि सम्वन्धित स्थानीय सरकारले उचित राहत दिनुपर्छ भन्ने हाम्रो माग छ ।” 


    एमालेका ३ हजार नेता तथा कार्यकर्तालाई नयाँ जिम्मेवारी 


    १० औं राष्ट्रिय महाधिबेसन अन्तरगत भएको वडा तथा पालिका अधिबेसनबाट खोटाङका ३ हजार १९९ जना नेता तथा कार्यकर्ताले नयाँ जिम्मेवारी पाएका छन् । जिल्लाका १० पालिकाबाट ७५० जना र ७९ वडा अधिबेसनबाट २ हजार ४९९ जनाले नयाँ जिम्मेवारी पाएको एमालेले जनाएको छ ।

    एमालेले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको वडा अधिबेसनले महिला मात्रको वडा कमिटि चयन गरेको विषयलाई ऐतिहासिक र गर्वलायक ठहर गरेको छ । गत २० भदौदेखि ९ कात्तिकसम्मको अवधिमा जिल्लामा विभिन्न पार्टी परित्याग गरी २ हजार १३७ जना एमाले प्रवेश गरेको सचिव आचार्यले जानकारी दिए । 


    १० पालिकामा उत्प्रेरकको जिम्मेवारी 


    पार्टी सदस्यताको काम टुंग्याउनका लागि एमालेले १० वटै पालिकामा उत्प्रेरकको जिम्मेवारी बाँडफाँड गरेको छ । ऐसेलुखर्क गाउँपालिकामा लिलानाथ निरौला, केपिलासगढी गाउँपालिकामा देवविक्रम राई, रावाबेँसी गाउँपालिकामा बिणादेबी राई, हलेसी तुवाचुङ नगरपालिकामा रामप्रसाद दंगाल र कुमार आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्यलाई उत्प्रेरकको जिम्मेवारी दिइएको छ ।

    यस्तै, साकेला गाउँपालिकामा रामप्रसाद दंगाल, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा चर्चबहादुर बिश्वकर्मा, खोटेहाङ गाउँपालिकामा दिपनारायण रिजाल, जन्तेढुंगा गाउँपालिकामा रामप्रसाद दंगाल र बराहपोखरी गाउँपालिकामा रामप्रसाद दंगालले उत्प्रेरकको जिम्मेवारी पाएका एमाले सचिव आचार्यले बताए । 
    एमालेले आगामी २६ कात्तिकभित्रमा पार्टी सदस्यता नवीकरण गर्ने, नयाँ सदस्यता भराउने र सदस्यको रेकर्ड अद्यावधिक गर्ने तयारी गरेको जनाएको छ । 

    प्रकाशित मिति :कार्तिक १४, २०७८ आइतवार - २३:०९:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको