खोटाङ । नेकपा एमाले खोटाङकी नेतृ तथा प्रदेश नम्बर १ की पूर्व सामाजिक विकास मन्त्री उषाकला राईले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेकी छन् ।
प्रेस चौतारी नेपाल खोटाङले मङ्गलबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राईले आगामी १० मंसिरदेखि १२ मंसिरसम्म चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिबेसनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेकी हुन् ।
पत्रकारसँग कुरा गर्दै राईले केन्द्रीय कमिटि सदस्यको उम्मेद्वारीका विषयमा जिल्लाका नेताबिचमा थप छलफल गर्ने राईले बताएकी छन् ।
निष्ठा, इमान्दारिता र प्रष्ट दृष्टिकोण लिएर काम गर्न सक्छु भन्ने मेरो विश्वास छ, नेतृ राईले भनिन्–“मलाई केन्द्रीय कमिटीमा अगाडी बढ्ने मेरो रहरलाई पूरा गर्नका निम्ति सम्पूर्ण राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुमा सहयोगका लागि हार्दिक अपिल गर्दछ ।” जिल्लाका अन्य आकांक्षीले भने हालसम्म उम्मेद्वारी घोषणा गरेका छैनन् ।
२०२६ सालमा हालको दिक्तेल रुपाकोट रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मिएकी राईले २०४७ सालमा पार्टीको सक्रिय सदस्यता प्राप्त गरेकी हुन । तत्कालीन अनेरास्ववियु एकताको पाँचौमा आवद्ध हुँदै राजनीतिमा होमिएका राईले खोटाङ–काठमाण्डौ सम्पर्क मञ्च (२०४७) मा अध्यक्षको दाबी पनि गरेकी थिइन् ।
नेतृ राई कोदोको लोकल रक्सीलाई व्याण्ड होइन ब्राण्ड बनाइनुपर्ने ‘व्याण्ड भर्सेस ब्राण्ड’ का अभियानकर्ता हुन् । खोटाङबाट पहिलो महिला मन्त्रीको इतिहास रचेकी उषाकला २०६४ सालमा पनि संविधान सभा सदस्य बनेकी थिइन् । एमालेको राष्ट्रिय अधिबेसनमा खोटाङका १४ जना प्रतिनिधि सहभागी हुँदैछन् ।
प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य, अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य हुँदै हाल अखिल नेपाल महिला संघको केन्द्रीय सचिवलाय सदस्य, पार्टीको १ नम्बर प्रदेश कमिटी सदस्य रहेकी राई प्रदेश नं. १ को सांसद हुन् । स्थानीय प्रहरी, प्रशासनले घरेलु मदिरा नष्ट गर्दा स्थानीयहरु उनै राईलाई सम्झने गर्छन् ।