खोटाङ । नेपाली कांग्रेस खोटाङको जिल्ला कार्य समिति सभापतिमा विष्णुकुमार राई निर्वाचित भएका छन्। सभापतिका अर्का उम्मेद्वार पूर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईलाई ५९ मतले पछि पार्दै विष्णुकुमार जिल्ला सभापति बनेका हुन्। सभापतिमा निर्वाचित भएका विष्णुले ६६९ मत ल्याएका थिए भने सर्वधनले ६१० मत ल्याएका हुन्।
शुक्रबार कांग्रेसको पार्टी कार्यालय दिक्तेलमा भएको अन्तिम मत गणनाको नतिजा अनुसार विष्णुकुमार राईको प्यानलको उपसभापतिमा इवन राईले ७५३ मत, तीर्थराज भट्टराईले ७४२ मत, सचिवमा समिर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत तथा सह–सचिवमा सार्जन राईले ६२४ मत र शालिकराम बन्जाराले ५९३ मत ल्याएर निर्वाचित भएका हुन्।
सर्वधन प्यानलको उपसभापतिमा मनोज तिम्सिनाले ५४३ मत, राजन सैजुले ३८४ मत, सचिवमा रोजन राईले ५५३ मत, रामकुमार राई साम्पाङले ५११ मत र सह–सचिवमा ध्यानवहादुर राईले ५६४ मत र राजकुमार राईले ५७७ मत ल्याएका थिए। १ हजार ३७३ जना क्षेत्रीय प्रतिनिधिमा जम्मा १ हजार ३२२ मत मतदान गरेका थिए।
सभापतिका विजयी विष्णुकुमार केन्द्रमा रामचन्द्र पौडेल र सभापतिमा पराजित सर्वधन शेरबहादुर देउवा निकटका हुन्। यस्तै, विभिन्न कोटाका जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधि खुल्ला, पालिका स्तरीय प्रतिनिधि लगायतको मत गणना भईरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।