नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस १ नम्वर प्रदेशको महामन्त्री पदमा भूपेन्द्र राईले उम्मेद्ववारी घोषणा गरेका छन् । खोटाङका राईले कांग्रेसको सुदृढीकरण, शुद्धीकरण, रुपान्तरण र संघीयता कार्यान्वयनका लागि प्रदेशको महामन्त्री पदमा बसेर काम गर्न भन्दै उनले उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।
आफू जित्नका लागि हैन नेपाली कांग्रेसलाई जिताउनका लागि प्रदेश अधिवेशनमा महामन्त्रीको उम्मेद्वारी रहेको राईले बताए । बलियो संगठन बनाउँदै आगामी निर्वाचनमा कम्युनिष्टलाई परास्त गर्न तथा अग्रजको अनुभव र युवाहरुको जोश जाँगरलाई संयोजन गर्दै पार्टीलाई मजवुत बनाउनका लागि उम्मेद्वारी दिएको राईको भनाइछ । उनी देउवा–सिटौला टिमको उद्धव थापाको प्यानलबाट महामन्त्रीमा उठ्ने भएका हुन ।
२०३५ असार १५ गते खोटाङको याम्खामा जन्मिएका राई २०५२ सालमा महेन्द्रोदय माध्यमिक विद्यालय डाडाँगाउँ ओख्रेबाट प्रवेशिका परीक्षा उतिर्णसँगै राई विद्यार्थी राजनीतिमा सक्रिय छन् । २०५५ सालमा रत्नराज्यलक्ष्मी क्याम्पसमा नेविसंघ क्याम्पस इकाईको उपसभापति भएका उनी सोही वर्षमा भएको स्ववियु निर्वाचनमा नेविसंघका तर्फवाट उपसभापतिको उम्मेद्वार बनेका थिए ।
२०५७ सालमा रत्नराज्यलक्ष्मी क्याम्पसको नेविसंघ इकाई सभापति भएका उनले त्यही वर्ष भएको स्ववियु निर्वाचनमा सभापतिको उम्मेद्वारी दिए । २०६० सालमा सोही क्याम्पसमा भएको स्ववियु निर्वाचनमा पुनः सभापतिका उम्मेद्वारी दिएर उनी पराजित हुन पुगे ।
नेविसंघ सभापति प्रदीप पौडेलको कार्यकाल २०६३ सालमा नेविसंघको केन्द्रीय सदस्य बनेका राई २०६८ सालमा नेपाली कांग्रेस विद्यार्थी विभागको केन्द्रीय सदस्य बनेर जिल्ला फर्के ।
नेपाली कांग्रेसको पाँचौ जिल्ला अधिवेशनपछि उनी जिल्ला कार्य समिति सदस्य बनेर संगठन विभाग प्रमुख, छैंटौ र सातौ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि बनेका राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसवाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भए ।
प्रवेशिका परीक्षा उतिर्णपछि उच्च शिक्षाका लागि शहर हिडेका राईले रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनी मार्ग काठमाडौबाट विए, २०६२/०६३ सालमा त्रिभुवन विश्वविद्यालय र्कितिपुरवाट इतिहास विषयमा प्रथम श्रेणीमा प्रथम स्थान पनि हाँसिल गरे । उनी गोल्ड मेडलिष्ट हुन ।