खोटाङ । नेपाली कांग्रेसको प्रदेश १ को महाधिवेशनमा खोटाङबाट महामन्त्रीसहित ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश सभापतिका प्रत्यासी उद्धव थापाको प्यानलबाट भूपेन्द्र राईले महामन्त्रीमा उम्मेद्वारी दर्ता गरेका छन् ।
यस्तै, प्रदेश सभापतिका अर्का प्रत्यासी गुरुराज घिमिरेको प्यानलबाट नेता बिरकाजी राईले सह–महामन्त्रीमा उम्मेद्वारी दिएका छन् । प्रदेश महामन्त्रीका प्रत्यासी राई दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष हुन् । उनी कोभिड–१९ को महामारीका बेला संक्रमितलाई पिठ्युँमा बोकेर अस्पताल पु¥याएर चर्चा कमाएका थिए ।
महामन्त्रीका प्रत्यासी राई सँगै प्रदेश सदस्यमा हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राई, लोकेन्द्र राई र शान्तिकला राईले सदस्यमा मनोनयन दर्ता गरेको नेपाली कांग्रेस दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सभापति अमृत गिरीले बताए ।
यस्तै, सह–महामन्त्रीसँगै प्रदेश सदस्यमा सुमनबाबु आचार्य, जितेन्द्रसिं ठकुरी, गोपाल सैंजू र अञ्जना केसी (बस्नेत), सम्भुनाथ कार्कीले उम्मेद्वारी दिएको नेविसंघ खोटाङका सभापति राजकुमार बस्नेतले बताए ।
प्रदेश सभापतिमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहबाट थापा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता शेखर कोइराला समुहबाट घिमिरे उठेका छन् ।