• ट्रेण्डिङ:

विकास निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही गर : एमाले 

विकास निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही गर : एमाले 

रोदिक खबर

४, माघ २०७८
  • 2.9K
    SHARES
  • विकास निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही गर :  एमाले 

    खोटाङ । नेकपा (एमाले) खोटाङले जिल्लामा सञ्चालित विकासका पूर्वाधारहरुको निर्माणका कामलाई तीव्रता दिन प्रशासनको ध्यानाकार्षण गराएको छ । ठेकेदारको लापरवाहीले जिल्लामा निर्माणाधीन विकासे योजनाको काममा ढिलासुस्ती हुनुका साथै गुणस्तरहीन भएको भन्दै तत्काल गुणस्तरीय कामलाई तीव्रता दिलाउन एमाले खोटाङले प्रशासनको ध्यानाकार्षण गराएको हो ।

    मंगलबार जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण–पत्र बुझाउँदै एमालेले जिल्लाका सडक, पुल, खानेपानी आयोजना, स्वास्थ्य संस्थाको भवन लगायतका संरचना निर्माणको ठेक्का लिएर ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई नियमानुसार कानूनी दायरामा ल्याउन र विकास निर्माणको कामलाई तीब्रता दिँदै अपुरा रहेका आयोजनाको पूर्णताका लागि पहल गर्न ध्यानाकर्षण गराएको हो । 

    एमालेले दिक्तेल–गाईघाट सडक खण्डको सुनकोसीस्थित फोक्सिङटारमा निर्माणाधिन मोटरेबल पुल, महुरे–फोक्सिङटार सडक कालोपत्रे, दिक्तेलको अस्पतालचोक–खानीडाँडा–आहाले सडक कालोपत्रे, पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रे, मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डमा पर्ने पंखु खोला र लप्से खोला मोटरेबल पुल, हुर्लुङ–जालपा–ऐसेलुखर्क, हुर्लुङ–जालपा–बाक्सिला सडक लगायतका राष्ट्रिय महत्वका आयोजनामा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीमाथि कानूनी कारबाही गर्न प्रशासन समक्ष माग गरेको हो । 

    एमालेले हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजना, विभिन्न पालिकामा निर्माणाधिन स्वास्थ्य संस्थाको भवन, दिक्तेलको अस्पताल चोक–साप्सु खोला–खोटाङबजार–पानधारे सडक लगायतका पूर्वाधारमा भएको बेवास्ता, ढिलासुस्ती, गैर–जिम्मेवारीपन र अनियमितता अन्त्यको माग गरेको छ ।

    एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई बुझाएको ध्यानाकर्षण–पत्रमा जिल्ला मालपोत कार्यालय लगायतका सरकारी कार्यालयमा भइरहेका लापरवाही र अनियमितताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । मालपोत कार्यालयको सेवा प्रवाहमा ढिलासुस्ती र लापरवाही भइरहेको जनगुनासो आएको एमालेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

    ‘नेपाली जनताको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानको रक्षाका खातिर र खोटाङ्गे जनताले सहजतापूर्ण पाउनुपर्ने सेवा प्रवाहमा आएको गतिरोधलाई अन्त्य गर्न सम्वन्धित पक्षलाई सचेत रहन आग्रह गर्दछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘जनसरोकारका विषयमा भएका ढिलासुस्ती, लापरवाही, बेवास्ता र अटेरिपनको तत्काल अन्त्या गर्न, निर्माण व्यवसायीलाई नियमानुसार कानूनी दायरामा ल्याइ विकास निर्माणको कामलाई तीब्रता दिन र अपुरा रहेका कामहरुको पूर्णताका लागि पहल गर्न जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारलाई जोडदार माग गर्दछ ।’ 

    विकास निर्माण र सेवा प्रवाहसँग सम्वन्धित विषयमा वर्तमान सरकारको मौनताले नेपाली जनताको मानसपटलमा अनेकौं प्रश्नहरु जन्माइरहेको एमालेले जनाएको छ । 
    प्रमुख जिल्ला अधिकारी दाहालले ज्ञापनपत्र बुझ्दै आफूबाट समाधान र सहजीकरण गर्न सक्ने कामहरुको तत्काल पहल कदमी गर्ने र नसक्ने कामहरुको लागि सम्वन्धित ठाउँसम्म पु¥याउने प्रतिवद्धता जनाए ।

    प्रकाशित मिति :माघ ४, २०७८ मंगलवार - २१:५७:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको