खोटाङ । खोटाङले दुई जना मन्त्री पाएको छ । खोटाङका प्रदेशसभा सदस्य राजन राई र रामकुमार राई (पासाङ) प्रदेश नम्बर १ को मन्त्री बनेका हुन् । खोटाङ प्रदेश ‘क’ बाट निर्वाचित प्रदेश सदस्य राजन राई सामाजिक विकास मन्त्री तथा खोटाङ प्रदेश ‘ख’ बाट निर्वाचित प्रदेश सदस्य रामकुमार राई खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रीमा नियुक्त भएका हुन् । उनीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मन्त्रीमा नियुक्त भएका राजन तत्कालीन समयमा नेकपा एमालेबाट प्रदेश सदस्यमा निर्वाचित भएका थिए। उनी हाल नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्य हुन् भने रामकुमार नेकपा माओवादी केन्द्रबाट प्रदेश सदस्यमा निर्वाचित भएका हुन्। उनी नेकपा माओवादी केन्द्रको केन्दीय सदस्य हुन्।
खोटाङका डिल्लीसेर राई पहिलो सहायक मन्त्री हुन् । पञ्चायत कालमा उनी वन, भौतिक पूर्वाधार तथा यातायात, रक्षा हुँदै गृह–सहायक मन्त्री बनेका थिए । पञ्चायत कालमै केदार राई शिक्षा सहायक मन्त्री बनेका थिए ।
बहुदल आएपछि अशोक राई २०५१ सालमा निर्माण तथा यातायात राज्यमन्त्री, २०५६ सालमा कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री र २०५८ सालमा स्वास्थ्य मन्त्री बनेका थिए ।
यस्तै, २०५६ सालमा सर्वधन राई उद्योग सहायक मन्त्री र २०५८ सालमा पर्यटन राज्यमन्त्री भएका थिए । २०५७ सालमा शिवकुमार बस्नेत वन राज्यमन्त्री बनेका थिए । २०७७ सालमा उषाकला राई प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्री बनेकी थिइन ।