खोटाङ । नेपाली कांग्रेस १ नं. प्रदेश कार्य समिति सभापति उद्धव थापाले कांग्रेसका कार्यकर्ता र नेता एमसीसीमा क्लियर हुनुपर्ने बताएका छन्। आसन्न स्थानीय तहको निर्वाचनमा गाउँगाउँ जाने नेता कार्यकर्ताले जनतालाई एमसीसीको सही जानकारी दिनुपर्ने भएकाले एमसीसीमा क्लियर हुनुपर्ने बताएका हुन्।
नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा शुक्रबार वीपी स्मृती भवन दिक्तेलमा प्रदेश सभापति लगायत पदाधिकारीलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै सभापति थापाले चाइनिज एम्बेसीबाट पैसा खाएका कम्युनिष्टहरुले एमसीसीको भ्रामक प्रचार गरेको र त्यसलाई चिर्न कांग्रेसीहरु एमसीसीको सही जानकारी लिएर टोलटोलमा, गाउँगाउँमा जानुपर्ने बताए। त्यसो हुंदा आसन्न निर्वाचनमा कांग्रेसले सहज रुपमा चुनाव जित्ने दाबी गरे।
‘जनताको घर–घरमा नेपाली कांग्रेस–कांग्रेसको पक्षमा अबको जनादेश’ नाराका साथमा आसन्न निर्वाचन लक्षित गरी प्रदेशका अधिकांश जिल्ला भ्रमण गर्दा एमसीसीको बारेमा प्रश्न आएको भनेर उम्मेद्वार बन्नुहुने साथीहरुले भनेको सुनियो । थापाले भने,‘अब टोलटोलमा, गाउँगाउँमा जाने कार्यक्रममा एमसीसीको सही जानकारी दिनुपर्ने देखियो। अनि मात्रै जनता एमसीसीमा क्लियर हुन्छ र हामी चुनाव जित्छौ। एमसीसी क्लियर गर्न सकेनौ भने हामीलाई लागेको शंका सही पनि हुनसक्छ।’
कांग्रेसले एमसीसी गलत छैन, मुलुकको अहितमा छैन, हाम्रो हितमा छ, मुलुकको हितमा छ, एमसीसी सही छ। एमसीसीले देशको विकास गर्छ भन्न सक्नुपर्छ । गलत भएदेखि संसदबाट पास हुने थिएन। विश्वका ४९ देशमा एमसीसी परियोजना लागू भई समापन भएको र ती देशहरुले पुनः एमसीसी परियोजनाको माग गरिरहेको छ। थापाले भने,‘खै त ती देशमा सेना गएन त रु’
एमसीसीको विरोध गर्नेहरुको संसदमा महामन्त्री गगन थापाले नाङगेझार पारेको र एमसीसी लागू भएको अवस्थमा नेपालमा अमेरिकी सेना आउने भन्ने भ्रामक कुरालाई उहाँले प्रष्ट पारिदिएको पनि थापाले बताए। एमसीसीको विरोध गर्नेहरु नाङगेझार हुने थापाको भनाई छ। खोटाङ कांग्रेसलाई एकदिन एमसीसीको वारेमा मात्रै कार्यक्रम गर्न थापाले सुझाव दिएका छन्।