• ट्रेण्डिङ:

एमसीसी राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

एमसीसी राष्ट्रको हितमा छ : प्रधानमन्त्री देउवा

रोदिक खबर

७, चैत्र २०७८
  • 3.1K
    SHARES
  • एमसीसी राष्ट्रको हितमा छ  :  प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना एमसीसी राष्ट्रको हितमा भएको बताएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ को याम्खा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले जोड्ने सडकखण्डको बाटोफेदीस्थित साप्सुखोलामा निर्माण गरिएको  मोटरेबल पुल उद्घाटन कार्यक्रममा बोल्दै  प्रधानमन्त्री देउवाले एमसीसीका कारण देशको गरिबी निवारणदेखि आर्थिक विकासमा टेवा पुग्ने बताएका हुन् ।

    प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी नेपालको राष्ट्रिय हितमा छ । अनुदान हो यो,’ देउवाले भने, ‘अवश्य नै देशमा गरिबी निवारणदेखि लिएर आर्थिक विकासमा ठूलो भूमिका राख्ने विश्वास लिएको छु ।

    पुल उद्घाटन कार्यक्रममा खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी, नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्वे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    यस्तै, प्रधानमन्त्री देउवा समक्ष दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष एवम् नेपाली काँग्रेस १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले जिल्लाको समग्र विकासका लागि पाँच बुँदे मागपत्र पेश गरेका छन्।

    गाउँपालिका अध्यक्ष एवम् महामन्त्री राईले दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको आहालेबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका हुँदै उदयपुर जोड्ने सडक कालोपत्रको लागि आवश्यक बजेटको व्यवस्था गरिदिन, फोक्सिङ्टार पुललाई यथाशिघ्र सम्पन्न गर्ने वातावरण मिलाइ दिन, खोटाङ र उदयपुर जोड्ने सुनकोशीको पुलहरु धाप्लाङ्घाट र रानीटारको निर्माणाधीन पक्की पुल यथाशिघ्र सम्पन्न गराउन, सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत लिफ्टिङ खानेपानी आयोजना चाँडो सम्पन्न गराउन र विद्युतीकरण हुन बाँकी जिल्लाका विभिन्न ठाउँहरुमा तत्काल विद्युतीकरण गराइदिन प्रधानमन्त्री देउवासमक्ष मागपत्र पेश गरेका थिए ।

    aa.jpg

    निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको संयुक्त वजेट ५ करोड ६० लाख १० हजार ५४५ रुपैयाँ (मुल्य अभिबृद्धि कर सहित) मा पुलको काम सम्पन्न गरेको हो । निर्माण कम्पनीले १७ जेठ २०७८ मा पुल निर्माणको काम सम्पन्न गर्नेगरी १७ जेठ २०७६ मा सम्झौता गरेको थियो ।

    स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण गरिएको पुल दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले ११ असार २०७६ मा शिलान्यास गरेका थिए । प्रिस्ट्रेस बिम पुल बीममा तार घुसाए तार तन्काएर तारमा लोड दिएर निर्माण गरिने प्रकृतिको पुल हो । 

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबाट खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिका पुग्ने सबैभन्दा छोटो रुटमा पर्ने साप्सु खोलामा स्थायी आवतजावतका लागि ४० मिटर लम्बाई भएको पुल निर्माण गरिएको हो । विशेषगरी दिप्रुङ गाउँपालिका र खानीडाँडा बिमानस्थललाई जोड्ने गरी साप्सु खोलामा पुल निर्माणको काम अघि बढाइएको थियो । 
    दिक्तेल–याम्खा–पञ्चमी सडकको बीचमा पर्ने खोलामा पक्की पुल निर्माणका लागि गाउँपालिकाले २९ कात्तिक २०७४ मा सडक बिभाग पाटनढोका ललितपुरमा निबेदन दिएको थियो । 

    प्रकाशित मिति :चैत्र ७, २०७८ सोमवार - २०:०१:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको