• ट्रेण्डिङ:

संगठन निर्माणमा–खोटाङ कांग्रेस

संगठन निर्माणमा–खोटाङ कांग्रेस

रोदिक खबर

१२, चैत्र २०७८
  • 4.2K
    SHARES
  • संगठन निर्माणमा–खोटाङ कांग्रेस

    नेपाली कांग्रेस केन्द्रीय समितिको १४ ओैँ महाधिवेशन र जिल्लाको ७ ओैँ अधिवेशन सम्पन्न भएपछि अहिले खोटाङ कांग्रेस संगठन निर्माण, सुदृढीकरण तथा अनुगमनको अभियानमा  होमिएको छ । जिल्ला अधिवेशनको दौरानमा सभापति बन्नका लागि धेरै साथीहरूले आकाँक्षा राख्नु भएको थियोे ।

    आकाँक्षा राख्ने मध्येको एक पात्र यो स्तम्भकार स्वयं पनि थियो तर पार्टीका आम कार्यकर्ताको भावना र चाहना मुताविक आफू यो अधिवेशनमा मूल नेतृत्वमा होइन दोस्रो जिम्मेवारीमा  मात्रै चित्त बुझाउने चौतर्फी  सुझाव आएपछि पार्टीमा लामो योगदान पुर्याउनु भएको अनुभवी, गतिशील र शालिन व्यक्तित्व विष्णुकुमार राईलाई नैतिक समर्थन गर्दै उपसभापति पदमा आफूलाई पुनःस्थिपित गरेको छु । तथापि यो भूमिकामा  आफूलाई हिनताबोध होइन उत्साह र  निष्ठाका साथ पार्टीलाई दर्बिलो बनाउँदै थप अनुभव र साथीहरूको विश्वास जित्ने काममा निरन्तर खटिरहेको छु ।

    नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । यहाँ आन्तरिक लोकतन्त्रको दह्रो अभ्यास हुन्छ । स्थापनाकालदेखि नै पार्टीको तल्लो इकाईदेखि माथिल्लो इकाईसम्म लोकतन्त्रको अभ्यास हुन्छ । कम्युनिष्ट पार्टीमा माथिल्लो नेतृत्वको निर्देशन र निर्णय कार्यकर्ताले मान्न बाध्यकारी हुन्छ भने नेपाली कांग्रेस पार्टीमा भने तल्लो इकाईले गरेको निर्णय नै अन्तिम निर्णय ठहरिन्छ । यो कांग्रेसको विशिष्टतम परिपाटी हो । अन्य राजनीतिक दल समेत नेपाली कांग्रेसको अधिवेशनले गर्ने नेतृत्व चयनको प्रक्रियासँग नतमस्तक हुने गरेका छन् । 

    खोटाङ कांग्रेसको सातौं जिल्ला अधिवेशनमा निवर्तमान सभापति नरेशकुमार श्रेष्ठले सहजताकासाथ नेतृत्व हस्तान्तरण गर्नुभयो । शुरुमा दुई कार्यकाल नेतृत्व गर्ने कि भन्ने मानसिकता बनाउनु भएको थियोे तर आफू महाधिवेशन प्रतिनिधि मात्रै जाने र सभापतिमा पार्टीमा लामो समय योगदान पु¥याउनु भएको गतिशील, योग्य, खोटाङमा नेपाली कांग्रेसका कार्यकर्ताले मात्र होइन अन्य राजनीतिक दलले समेत अभिभावत्व स्वीकार्न सक्ने राजनीतिज्ञ विष्णुकुमार राईलाई अघि बढाउने परिपक्व निर्णयले आम पार्टीका कार्यकर्तामा खुशी, उमंग र रक्तसञ्चार भएको  अनुभुत गराएको छ ।

    २०४९ सालमा जिल्ला विकास समितिको पहिलो सभापति, पार्टी विभिन्न जिम्मेवारी निर्वाह गर्दै २०६२ र २०६७ सालमा जिल्ला सभापति बनेर कांग्रेसको भरोसा योग्य नेताको छाप बनाई सक्नु भएको विष्णुकुमार राई र २०५२ र २०५७ सालको जिल्ला अधिवेशनमा सभापति पदमा उभ्याउँदै प्राविधिक कारणले झिनो मतले दोस्रो भई २०५६ सालको आम निर्वाचनमा भने क्षेत्र नंं.१ बाट सांसद निर्वाचित भई दुई पटक नेपाल सरकारको मन्त्री बन्नु भएको अनुभवी पुरानो नेता सर्वधन राईले सभापति पदमा पुनः उम्मेदवारी दिनु भएपछि दह्रो प्रतिष्पर्धा हुने सुनिश्चित भयो ।

    यसैको बदौलत जिल्ला अधिवेशन रोचक, प्रतिष्प्रधात्मक र आम खोटाङबासीको चासोको विषय बन्यो । अन्ततः विष्णुकुमार राईले ५९ मतको मतान्तरले पार्टी संचालन गर्ने पाँच वर्षे जिम्मेवारी पाउनुभयो भने प्रतिद्वन्द्वी सर्वधन राईले पार्टीका धेरै नेता कार्यकर्ताको माया, विश्वास र भरोसाको महत्वपूर्ण जिम्मेवारी पाउनुभयो । यो एउटा प्रक्रिया मात्र थियो केवल नेतृत्व लिने र पार्टीको गतिविधिलाई अगुवाइ गर्ने विधि । 

    अधिवेशन पश्चात् बसेको  जिल्ला समितिको पहिलो बैठकबाट नै टोल समिति गठन गरेर सांगठनिक संरचनालाई तन्दुरुस्त गर्न पार्टीको तल्लो इकाईलाई निर्देशन दिएको थियो । त्यस पश्चात् सभापति विष्णुकुमार राई र नेता सर्वधन राईका वीच भावनात्मक एकता र सहकार्यका साथ संगठनलाई सक्रिय बनाई रहनु भएको छ । न छलछाम छ न षड्यन्त्र, पारदर्शी र गतिशील संगठन निर्माणको अभियानमा दुबै नेताको हातेमालो र सक्रियताले खोटाङ कांग्रेसका कार्यकर्तामा एकता, सहकार्य र सहिष्णुताप्रति संगठन निर्माणका लागि रक्त संचार प्रवाहित भएको छ । 

    अहिले  भातृ तथा शुभेच्छुक संघसंस्थालाई पूर्ण परिचालन गर्दै गतिशील संगठन निर्माण, अन्तक्रिया कार्यक्रम, पार्टी कार्यालय व्यवस्थापन, सत्तारुढ गठबन्धन दलहरूसँग निरन्तर संवाद, जिल्लाको विकास निर्माण तथा समृद्धिका लागि तालुकदार निकायलाई खबरदारी र पहलकदमी, जनताको प्रत्यक्ष सरोकारवाला विषयमा दैनन्दिन पार्टी परिचालित भएको छ ।

    २०७८ फागुन ७ गते भएको  जिल्ला समितिको पछिल्लो बैठकबाट “जनताको घरघरमा नेपाली कांग्रेस, कांग्रेसको पक्षमा अबको जनादेश” भन्ने कर्णप्रिय नारा सहित जिल्लाका ७९ वटै वडामा पार्टीको जिल्ला तहका नेता खटिएर पार्टीको संगठन निर्माण, सुदृढीकरण र अनुगमनको १ महिने अभियानले पार्टीमा तल्लो तहसम्म संगठनको जग बसाउन सफल भएको छ । विगतमा जहाँ जहाँ टोल समिति गठन भएको थियोे त्यहाँ पार्टी पुनर्ताजगी भयो भने जहाँ संगठन निर्माण भएको थिएन त्यहाँ सैकडौँ साथीहरू पार्टीको मूलधारमा जोडिनु भएको छ । 

    पार्टीको निर्णय अनुसार १ महिने अभियान अन्तर्गत टोल समिति गठन, वडा, पालिका र क्षेत्रीय समितिको पूर्णता, भातृ तथा शुभेच्छुक संघ र संस्थाको विधान अनुसार गठन र परिचालन, विकास निर्माणको  अवश्था टिपोट , जनताको ज्वलन्त समस्या र अपेक्षालाई नजिकबाट नियाल्दै खटिएका सबै प्रतिनिधिले धमाधम प्रतिवेदन बुझाउने काम भई रहेको छ ।

    यो अभियानबाट आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुन पार्टीका तल्लो तहका नेतार कार्यकर्ताको भावना, चाहना र विकास निर्माणका लागि पार्टीले  निर्वाह गर्नुपर्ने दायित्व र भूमिकालाई अझै नजिकबाट बुझ्ने अबसर मिलेको छ । निर्वाचन परिचालन र रणनीति तय गर्न यो अभियान अत्यन्तै सफल हुनेमा यो स्तम्भकार आशावादी रहेको छ ।

    अर्कोतर्फ खोटाङ कांग्रेसका सबै शीर्षस्थ नेताहरू काँधमा–काँध मिलाउँदै गाउँ–गाउँमा पुगेर जुन ढंगबाट एकताको सन्देश दिई रहनु भएको छ यसले पार्टीको संगठनलाई दर्बिलो बनाउनलाई मात्र होइन जिल्लाको विकास निर्माणमा समेत महत्वपूर्ण सावित हुनेछ ।

    यो महाधिवेशनबाट पार्टीमा लामो जिम्मेवारी निर्वाह गरि सक्नु भएको शालिन, गतिशील र सकारात्मक सोँचकी धनी सभासद सरस्वती बजिमय केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएपछि खोटाङ कांग्रेसले पहिलोपटक कांग्रेसको केन्द्रीय राजनीतिमा पहुँच पु¥याउन सफलता हासिल गरेको थियोे ।

    खोटाङबाट पटकपटक नेताहरूले केन्द्रीय सदस्य हुन जमर्को गर्दा समेत सफलता हासिल भएको थिएन भने यस पटक सभासद सरस्वती बजिमयले भने सहज ढंगबाट आफूलाई केन्द्रीय राजनीतिको माथिल्लो ओहोदामा पु¥याएर खोटाङका अरु काङ्ग्रेस नेता भन्दा  अग्लो राजनीतिक कद निर्माण गर्नुभएको छ । 

    त्यसैगरी प्रदेश महामन्त्रीमा भुपेन्द्र राई , प्रदेश सदस्य जितेन्द्रसिं ठकुरी, विमला राई, लोकेन्द्र राई र शान्तिकला राई निर्वाचित भएर प्रदेश पार्टीको राजनीतिमा समेत खोटाङ कांग्रेसको हस्तक्षेपकारी भूमिका निर्वाह हुनेमा आम कार्यकर्ता आशावादी छन् । 

    अन्त्यमा, पछिल्लो जिल्ला अधिवेशन पश्चात् खोटाङ कांग्रेस एवम्  भातृ तथा शुभेच्छुक संस्थालाई पूर्ण परिचालन गर्दै पार्टीलाई एकताबद्ध ढंगले नेतृत्व गरिरहनु भएको पार्टी सभापति विष्णुकुमार राईको अनुभवलाई कार्यान्वयन गराउन उहाँका समकक्षी तथा पार्टीको सबै निकायले साथ, सहयोग र आफ्नो जिम्मेवारी एवम् कर्तव्य पूरा गर्न हामी सबै तहका नेता कार्यकर्ता प्रतिबद्ध रहेने हो भने तीनै तहको निर्वाचनमा अत्यधिक मतसहित निर्वाचित हुनेमा दुई मत रहने छैन । सबै जुटौं, उठौँ र कांग्रेस जिताउँ र जिल्लाको विकास निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउँ । (लेखक भट्टराई नेपाली कांग्रेस खोटाङका उपसभापति हुन् )

    प्रकाशित मिति :चैत्र १२, २०७८ शनिवार - १०:१८:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको