नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भोली खोटाङ आउने भएका छन् । एमाले खोटाङले आयोजना गर्ने जिल्ला स्तरीय जनसभामालाई सम्बोधन गर्न ओली खोटाङ आउने भएको एमाले खोटाङले जनाएको छ ।
एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओली, उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ दिक्तेल आउनुभन्दा पहिले त्रिधार्मिकस्थल हलेसीमा आएर हलेसी महादेवको अवलोकन गर्नेे बताइएको छ ।
हलेसीमा गुरु योजना लागू गराउनका लागि साथै त्रिधार्मिकस्थल हलेसी महादेवको प्रचार–प्रसार एवम् प्रर्वद्धनमा अध्यक्ष ओलीको महत्वपूर्ण भूमिका रहने भएकाले कार्यक्रमलाई सम्वोधन गर्नुअघि हलेसी महादेवको अवलोकन गर्नेे कार्यक्रम राखिएको नेकपा एमालेका केन्द्रिय सदस्य रमेशकुमार पौडेलले बताए ।
दिक्तेलको माटिकोरे खेलमैदानमा हुने कार्यक्रममा जिल्लाका सबै क्षेत्र, नगर, गाउँ, वडाबाट दशौ हजार जनतालाई सदरमुकाममा उतार्ने तयारी रहेको नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए ।
अध्यक्ष दंगालका अनुसार आम जनसमुदायलाई ओलीका महत्वपूर्ण भनाई शुन्न र बुझ्न निमन्त्रणा पत्रमार्फत जनसभामा सहभागी हुनका लागि अनुरोध गरिएको छ । उनले भने, “हामीले कुनै पार्टी नछुट्याई निमन्त्रणा पत्र बाडेका हौँ ।”